एमसीसी सम्झौताबारे नेपाली जनताले जान्नु आवश्यक छ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

एमसीसी सम्झौताबारे नेपाली जनताले जान्नु आवश्यक छ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद् रावलले एमसीसीको मुल सम्झौता र अन्य सहायक सम्झौताहरूको विषयमा नेपाली जनताले जान्न आवश्यक हुने भएकाले प्रतिनिधिसभामा पेश गर्न माग गरेका हुन् ।

‘एमसीसी सम्झौता तत्काल प्रतिनिधिसभा बैठकमा पेश गरियोस्,’ उनले भने, ‘त्यसभित्र भएका राम्रा र नराम्रा विषयका बारेमा नेपाली जनताले जान्न पाउनुपर्छ, हरेक सांसद्ले त्यसको विषयमा जान्नु आवश्यक छ ।’

एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदाबुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताए । उनले भने ‘देशको स्वाधिनता र स्वाभिमान खिलाप हुने कुनै पनि बुँदा र प्रावधान छन्, त्यसलाई संशोधन गर्नुपर्छ ।’

उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पन नसकिने अडान राखे । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइने भए पनि त्यो संविधान र स्वतन्त्र परराष्ट्र नीति अनुसार हुनुपर्ने बताए । उनले सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक-पटक दोहोर्‍याए ।