जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत


काठमाडौं । डा.बाबुराम भट्टराईको प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको सांसद् प्रदिप यादवले जनाएका छन् । अब सरकारमा जाने मन्त्रीहरुका बारेमा आइतबार छलफल गरिने यादवले बताए ।

पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा.भट्टराईले यादवलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने सांसद् महेन्द्र यादवले समर्थन गरेका थिए । गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको थिए ।

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन । जसपामा विवाद बढेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।