एसएसबीको तुइन कान्डः भारतीय समकक्षीलाई पत्र, नेपाल पनि दोषी - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

एसएसबीको तुइन कान्डः भारतीय समकक्षीलाई पत्र, नेपाल पनि दोषी


काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन तर्ने क्रममा महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी मागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराइ आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरेकी छन् ।

घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ । शुक्रबार तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी काटिदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

धामीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट टोली समेत खटाइएको प्रशासनले जनाएको छ ।

यता, सत्तारुढ गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले ब्याँस गाउँपालिका–२ मालघाटका जयसिंह धामी विदेश जानका लागि भारतीय शसस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएको घट्नाका विषयमा भारतीय अपराधिक कार्यको विरोध गर्दै भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्ने तथा घट्नाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र भारतीय ज्यादती रोक्न पहिलो बुँदामार्फत संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।

घटना घटेपछि गृह मन्त्रालय छानबिन समिति गठन गरेको छ । हरेक घटनामा मानवीय क्षति भएपछि मात्रै होस् आउने बानी सरकारले यो पटक पनि देखायो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको उपलब्धिमा तुइन मुक्त नेपाल भनेका थिए । काठमाडौंमा केपी ओलीले तुइनमुक्त नेपाल घोषणा गरिरहँदा दाचुर्लामा नागरिकहरू तुइन चढेरै यात्रा गरिरहेका थिए ।

बेपत्ता रहेका धामी तुइन तरेर भारततर्फ पुग्न एक दुई मिटर बाँकी रहेका बेला भारतीय सीमा बलका दुई जना एसएसबी भारततर्फ तुइनको तार बाँधिएको रुख वा ढुङ्गातर्फ आएको प्रत्यक्षदर्शी र ब्याँस गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले जानकारी गराएका छन् ।

एक जना एसएसबी अलिमाथि नै उभिएको र अर्का एसएसबी तुइन बाँधिएकै ठाउँमा पुगेका थिए । यो हुँदासम्म त्यहाँ तुइन तरेका अन्य नागरिकहरू एसएसबीलाई देखेर भागेर माथि आइसकेको बुझिएको छ । घटनास्थलको नजिक रोडबाट घटना देखेको बताउने एक जना स्थानीयले एसएसबीले तार खोल्न लाग्दा डरले ती व्यक्ति नदीमा खसेको बताए ।

सदरमुकाम खलङ्गाभन्दा माथिल्लो हिमाली भेगका स्थानीयहरू सदरमुकाम आउनुपर्दा खासगरी भारतको बाटो भएर आउने गर्छन् । किनकी नेपालतर्फको सरकारले सडक बनाउनु त परको कुरा राम्रो हिँड्ने बाटो समेत बनाएको छैन । माथिल्लो हिमाली भेगका स्थानीयहरूलाई नेपालकै बाटो भएर सदरमुकाम आउन एक, दुई दिन लाग्छ ।

त्यसैकारण उनीहरू महाकाली नदी किनारमा झर्छन् र त्यहाँबाट तुइनबाट नदी तरेर भारतीय भूमिमा पुग्छन् । भारततर्फ भने महाकाली किनारमै पक्की सडक रहेको छ । सो सडकबाट गाडीमा उनीहरू एक डेढ घण्टामै भारतको धार्चुला पुग्छन् र त्यहाँ रहेको महाकालीमाथिको पुल तरेर दार्चुला सदरमुकाम खलङ्गा पुग्छन् ।