सडकमा माधव पक्षको शक्ति प्रदर्शनः देउवालाई बचन होइन काम गर्न सुझाव - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

सडकमा माधव पक्षको शक्ति प्रदर्शनः देउवालाई बचन होइन काम गर्न सुझाव


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई खोपको वचनमात्र नदिएर काममा ध्यान दिन सुझाव दिएका छन् ।

जनतालाई दिएको वचनप्रति प्रतिबद्ध भएर काम गर्न उनले आग्रह गरेका हुन् । उनले अहिलेको सरकारलाई जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए ।

काठमाडौंको बबरमहलमा अनेरास्ववियूको केन्द्रीय कमिटीद्वारा आयोजित अखिल फोर्सको वृहत् भेलालाई सम्बोधन गर्दै नेपाललेअध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराए ।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालको भनाइ थियो । ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेपालको भनाइ थियो ।

ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन पनि गरेको थियो । त्यसपछिको कार्यक्रममा नेता नेपालले महाकाली घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग पनि गरे ।

नेपाल पक्षले आफू कमजोर नरहेको सन्देश दिने गरी राजधानीमा मोटरसाइकल र्‍याली गरेको हो। नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ।