निधि, कोइराला र सिंहबीच निरन्तर भेटको अर्थ - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

निधि, कोइराला र सिंहबीच निरन्तर भेटको अर्थ


काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले संबैधानिक बाध्यतालाई ख्यालमा राखेर पार्टीको १४औं महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिंहबीच भएको भेटवार्तामा महाधिवेशन केन्द्रीत छलफल भएको हो ।

सिंह निवास चाक्सीबारीमा भएको छलफलमा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको नेविसंघका पूर्वप्रवक्ता युपी लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार तीन नेताहरुबीच आसन्न महाधिवेशनमार्फत आगामी पार्टी नेतृत्वको विषयमा छलफल भएको हो ।
छलफलका क्रममा कांग्रेस नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाले भनेजस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनुपर्ने विषयमा कुराकानी भएको थियो ।

पार्टीको नेतृत्वका लागि दौडमा रहेका तीन नेताबीचको यसअघि तीन नेताबीच पटक–पटक भएको छलफलमा बाहिर देखिने ठोस उपलब्धि हुन सकिरहेको छैन् । निधि दिल्लीबाट फर्किएपछि तीन नेताहरु फेरि आन्तरिक छलफलमा जुटेका हुन्। निधि साउन १३ काठमाडौंबाट विराटनगर हुँदै सिलिगुडी–कलकत्ता भएर दिल्ली पुगेका थिए। उनी शुक्रबार काठमाडौं फर्किएका हुन्।

महाधिवेशनको नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत जारी छ । सोही क्रममा उनीहरुले भेटघाटलाई नितरन्तरता दिइरहेका छन् । विभिन्न नेताहरुसँग उनीहरुले भेटघाटलाई बढाएका छन् ।

तीन नेताबीच निरन्तर महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल हुँदै आइरहेको छ । तीन नेताबीचको छलफलमा पार्टी भित्र कायम रहँदै आएका गुटलाई अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा छलफल हुँदै आइरहेको हो ।

उनीहरूले सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यस पटक नेतृत्व चयन गर्ने विषयमा छलफल गरिरहेका छन् । सो रणनीति अनुसार सबै आकांक्षीहरुबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्विकार्ने विषयमा उनीहरू बीच छलफल भइरहेको छ ।

नेता त्रय बीच यसअघि महामन्त्री कोइरालाको निवास महाराजगंजमा ११ असारमा छलफल भएको थियो भने त्यसअघि ७ असारमा उपसभापति निधिको मध्य बानेश्वरस्थित निवासमा छलफल भएको थियो ।

हालसम्म यी तीनै जना नेताले पनि आफू आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आइरहेका छन् । महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल गरिरहेका उनीहरुले सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यसपटक नेतृत्व चयन गर्ने विषयमा छलफल गरिरहेका छन् । सो रणनीति अनुसार सबै आकांक्षीहरुबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्वीकार्ने विषयमा उनीहरु बीच छलफल भइरहेको छ ।