निर्देशनमै गृहमन्त्री खाँडको दैनिकी - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

निर्देशनमै गृहमन्त्री खाँडको दैनिकी


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण आइतबार दिनभर निर्देशन दिनमै ब्यस्त भए । बेग्ला बेग्लै बैठकहरुमा उनले देशमा देखिएका समस्याहरुका बारेमा जानकारी लिंदै निर्देशन दिएका छन् । उनले पहिलो प्राथमिकतामा तुइनलाई दिएका छन् । देशभर संचालनमा रहँदै आएका तुइन हटाउन उनको निर्देशन थियो ।

आइतबार गृहमन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा नेपाली युवा नदीमा खसेर बेपत्ता भएका थिए । त्यसपछि तुइन हटाउने विषयमा गृह मन्त्रीको यस्तो निर्देशन आएको हो ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ,मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको उपस्थिति थियो ।

त्यस्तै खाँणले सिन्धुपाल्चोकको चनौटेमा वैकल्पिक पुन हाल्न पनि निर्देशन दिएका छन् । मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा, उद्धार र राहतका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको भन्दै चनौटेमा वैकल्पिक पुल बनाएर आवागमन सहज बनाउन निर्देशन दिएका हुन् ।

सो स्थानमा रहेको पुल शनिवार राती बगाएको थियो । सो पुल बगाउँदा मेलम्ची र हेलम्बुबीचको सडक सम्बन्ध अवरुद्ध बनेको छ । बैठकमा समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री खाँणलाई सुरक्षा अङ्गका प्रमुखहरूले शनिवार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिबारे जानकारी गराएका छन् ।

सो क्रममा गृहमन्त्री खाँणले तत्काल हेलम्बु गाउँपालिकाको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्न भनेका हुन् । यसैगरी सो स्थानमा प्रभावितहरूका लागि सहज रूपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानी गर्ने आवश्यक प्रबन्ध मिलाउन समेत उनले निर्देशन दिए ।

त्यस्तै अर्को बैठक थियो–विपद् व्यवस्थापन समितिको । उक्त बैठकमा पनि खाँणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको जनाए । समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिए ।

बैठकमा शनिवार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ ।