तुइनबाट खसेर बेपत्ता युवाबारे गृहमन्त्री खाँडले दिए जवाफ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

तुइनबाट खसेर बेपत्ता युवाबारे गृहमन्त्री खाँडले दिए जवाफ


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा एक नेपाली युवा तुइनबाट खस्दा बेपत्ता भएको जानकारी राष्ट्रिय सभाको बैठकमा दिएका छन् ।

खाँडले तुइनबाट खसेर युवा नदीमा बेपत्ता भएको र खोजी जारी रहेको बताए पनि सांसदहरुले भने उक्त घट्ना भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा काट्दा भएकाले सरकारसँग प्रष्ट जवाफ मागेका थिए । गृहमन्त्री खाँडले भने घटनको छाविनका लागि समिति बनेको र समितिको प्रतिवेदन नआउँदासम्म केही भन्न सकिने अवस्था नरहेको भन्दै उम्कने प्रयास गरे ।

घटना छानबिन गर्न दार्चुलाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक वृजसिंह धामी र नेपाल प्रहरीका डिएसपी नरेन्द्रसिंह धामी घटनास्थल गएको तथा घटनाका प्रत्यक्षदर्शी अनिता धामी, विक्रम राङ्खोले र कल्याण धामीलाई जिल्ला ल्याइएको जानकारी उनले जानकारी दिए ।

गृहमन्त्री खाँडले भने, ‘जयसिंहको खोजतलास गर्न जिल्ला सदरमुकाम र गाउँका नौवटा प्रहरी पोस्ट परिचालित छन् । सीमा सुरक्षाका पाँचवटा बेसबाट खोजी भइरहेको छ । घटनाको छानबिन गर्न १० दिन समय दिएका छौँ । केन्द्रमा गठित टोली आजै धनगढी प्रस्थान गरेको छ। छानबिनबाट सत्यतथ्य ल्याउने संकल्प गरेका छौँ ।’

संसदलाई घटनाको जानकारी दिँदै गृहमन्त्री खाँडले महाकालीको मालघाटमा तुइनबाट तर्ने क्रममा दुःखद, गम्भीर र संवेदनशील घटना भएको भन्दै संसदमा भने, ‘नेपालका केही नदीहरुमा अझै पनि तर्न तुइनको प्रयोग गर्नु परिरहेको छ । महाकाली नदीमा चारवटा तुइनहरूलाई विस्थापित गरेर झोलुंगे पुल निर्माण कार्य अघि बढिरहेको छ । महाकाली नदीमाथि मालघाटमा पनि झोलुङ्गे पुल बनिरहेको छ । तर अहिलेको असहज परिस्थितिले निर्माण भएको छैन । मालघाट तर्ने क्रममा दार्चुलामा दुःख गम्भीर र संवेदनशील घटना भएको छ ।’

साउन १५ गते बिहान ब्याँसका ३३ वर्षीय जयसिंह धामीसहितका व्यक्ति व्यास–२ बाट सदरमुकाम पुग्न तुइन तर्ने क्रममा घटना भएको भन्दै थपे, ‘जयसिंह धामी महाकाली नदीको तुइन तर्ने क्रममा बेपत्ता भएको भनेर नरेन्द्रसिंह धामीसहितले निवेदन दिएका थिए । नेपालकै मालघाटबाट दार्चुला सदरमुकाम खलंगाका लागि हिँडेका उनीहरुले भारतको छोटो बाटो रोजेका थिए । नेपलको बाटोबाट जान दिनभरी लाग्छ । तुइनबाट पारी गएर धार्चुलाबाट पुल तरेर दार्चुला आउन एक डेढ घण्टा मात्रै लाग्छ ।’