कोरोना नियन्त्रणमा ३१ अर्ब २८ करोड खर्चः पारदर्शीता खोइ ? - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कोरोना नियन्त्रणमा ३१ अर्ब २८ करोड खर्चः पारदर्शीता खोइ ?


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको करिब १८ महिना पुग्यो । यसबीचमा दुईवटा सरकार बने । केपी ओली नेतृत्वको सरकार रहँदा फैलिएको संक्रमण शेरबहादुर देउवा नेतृत्व आइसक्दा विकराल बनिरहेको छ । ओलीले कोरोना नियन्त्रणका लागि अत्याधिक खर्च गरे पनि नियन्त्रणमा कुनै फेरबदल आएको पाइँदैन । यता देउवा नेतृत्वको सरकार आए लगत्तै मन्त्रिपरिषद्को पहिलो निर्णय नै कोरोना संक्रमण नियन्त्रणका नाममा भएको खर्च विवरण सार्वजनिक गर्ने थियो । खर्च पारदर्शी राख्ने संकल्प थियो । तर त्यो कार्यान्वयनको छाँटकाट छैन् ।

यसले कोरोना संक्रमण नियन्त्रण र उपचारमा सरकारले गरेको ठूलो धनराशीप्रति पारदर्शीताको प्रश्न उठिरहेको छ । भरपर्दो मापदण्ड विनै खर्च गरिंदा अनियमितता बढेको अनुमान पनि गरिएकोछ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारमा हालसम्म ३१ अर्ब २८ करोड रकम खर्च गरेको छ ।

गत बर्ष पनि स्वास्थ्य सामग्री खरिद तथा खोप ल्याउने सवालमा अनियमियतता भएको लेखा समितिले ठहर गरिसकेको छ । तर उक्त घट्ना सामसुम हुने हो कि भन्ने आशंका जन्माएको छ । यसबर्ष पनि खर्चको विवरण सार्वजनिक हुन सकिरहेको छैन् ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १४ अर्ब ५ करोड रकम खर्च भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १७ अर्ब २२ करोड रकम खर्च भएको छ । यसमध्ये ७ प्रदेशले ३ अर्ब रकम खर्च गरेका छन् भने स्थानीय सरकार ले ९ अर्ब ६१ करोड रकम खर्च गरेका छन् । कोरोना नियन्त्रण र उपचारमा हालसम्म ३१ अर्ब २८ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण र उपचार कोषमा उठेको २ अर्ब ५२ करोड रकमसमेत खर्च भएको भनाइ छ । संक्रमण नियन्त्रण गर्न स्वीजरल्याण्ड, अमेरिका, सिंगापुर, स्पेन, चीन र बंगलादेशलगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट करिव २ अर्ब ५० करोड रकम बराबरको स्वास्थ्य उपकरण प्राप्त भइसकेको छ भने एसियाली विकास बैंक, जापान सरकार, विश्व बैंक लगायतबाट थप ८ अर्ब ९ करोडको सहायता प्राप्त हुने सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।