माधव नेपाल पक्षले कुन बाटो रोज्ने ? - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

माधव नेपाल पक्षले कुन बाटो रोज्ने ?


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष गम्भीर मोडमा पुगेको छ । सरकारमा सहभागी हुने वा एकता जोगाएर संगठित हुने भन्नेमा नेपाल पक्ष अनुत्तरीत छ ।

सर्वोच्च अदालतले सरकारमा सहभागी हुने स्पष्ट व्याख्या नगरिदिँदा कानुनी अल्झनका कारण सरकारमा सहभागी भइहाल्ने अवस्थामा छैन् । एकता जोगाउनुपर्ने दवावमा परे पनि एकता भइहाल्ने अवस्था नदेखिंदा यो समूह असहज अवस्थामा पुगेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरु सरकारमा नजाने स्पष्ट पार्दै आफूहरु प्रतिपक्षमै रहेको स्पष्ट पारे । ‘सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौं, अपोसिजसनमा छौं’उनले भने ।

पछिल्लो समय एमालेको एकता जोगाउने स्पष्ट लाइनमा देखिएका वरिष्ठ नेता नेपालले तत्काल गठबन्धनको सरकारमा सहभागी नहुने बताइरहँदा एकता भइहाल्ने अवस्था नरहँदा रनभुल्लको अवस्थामा पुगेका छन् । किनकी एमालेको संस्थापन पक्षको खिलाफका गतिविधिले एमाले तत्काल मिल्ने संकेत देखिएको छैन भने केपी शर्मा ओलीको अभिव्यक्तिका कारण नेपाल पक्ष असन्तुष्ट छ ।

नेपाल पक्ष अझै पनि एकताको प्रमुख बाधक केपी शर्मा ओली नै भएको ठहर गर्दै ओलीले आफ्ना अभिव्यक्ति र कार्यशैली सच्याउनुपर्नेमा अडानमा छ । जुन संस्थापन पक्षले सुरु देखि नै अस्वीकार गर्दै आइरहेको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको निर्माणमा महत्वपुर्ण भूमिका निभाएको नेपाल पक्षलाई संवैधानिक आधारमा सरकारमा जान बाधा देखिँदैन । तर, राजनीतिक दलसम्बन्धी ऐनले बाधा पर्ने बताइएको छ ।

कानुनी रुपमा विभाजन भइनसकेको एउटै दल सरकार र प्रतिपक्षमा बस्न नमिल्ने पनि बताइएको छ तर, नेपाल पक्षले आफ्ना स्वतन्त्र सांसदलाई मार्ग प्रशस्त गरी सरकारमा सहभागी गराउनु सहज हुने बाटो पनि रोज्न सक्ने आधारहरु छन् ।

विहीबारको बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्ने क्रममा पार्टी एकतातर्फ सकारात्मक भएको बताउँदै वार्ता अझै जारी रहेको जनाउ दिए ।