बार्सिलोना छाड्दा भक्कानिए मेस्सी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

बार्सिलोना छाड्दा भक्कानिए मेस्सी


काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधनमा भक्कानिएका छन् । मेस्सीले आफूले बार्सिलोना छोड्न नचाहे पनि बाध्य भएको प्रतिक्रिया दिएका छन् ।

क्लबबाट बिदा हुने निश्चित भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै क्लबका पूर्वकप्तान मेसीले भावुक हुँदै भने–‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन । गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

बार्साबाट यसरी बिदाई हुनुपर्ला भन्ने नसोचेको भन्दै मेसीले रुँदै रुँदै भने, ‘आज मैले ‘गुड–बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ । २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नुपर्ने अवस्थामा पुगेका मेसीले आफू कहाँ जाने निश्चित भइनसकेको पनि बताए । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए ।

अर्जेन्टिनी कप्तान एवं ६ पटकका बालोन डी’ओर विजेता मेसीले भने, ‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन’ उनले भने, ‘यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु ।’

मेस्सीले आफूबिना पनि क्लब अघि बढ्नेमा ढुक्क रहेको बताए । ‘अध्यक्षले भनेजस्तै खेलाडीभन्दा क्लब ठूलो हो । खेलाडी आउने जाने क्रम जारी नै रहन्छ । अहिले पनि क्लबमा राम्रा खेलाडी छन् । अन्य खेलाडी पनि भविष्यमा आउने नै छन् । मलाई विश्वास छ आउने दिनमा पनि क्लब सफल नै हुनेछ,’ उनले भने ।

मेस्सीले आफू समर्थकका बिचमा रहेर बिदाइ लिन नपाएकोमा खिन्न महसुस गरेको बताए । ‘अहिलेको अवस्था नै यस्तै रहयो । पछि फेरी कुनै अवसर आयो भने म बिदाइमा समर्थकमाझ आउन सक्छु होला, तर त्यो बेलामा फरक स्थिति हुनेछ । हामीले समर्थकसँग रहेर खेल्न पनि पाएनौं । यो निकै खराब समय रहयो,’ उनले भने ।

यसअघि शुक्रबार मात्र बार्सिलोनाले आर्थिक र संरचनागत कारण मेसीलाई क्लबमा राख्न नसकिने भएको जनाएको थियो । यद्यपि, यसअघि बार्सिलोना र मेसीबीच आधा रकम घटाएर पाँच वर्षका लागि नयाँ सम्झौता हुने खबर आएको थियो ।

सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले सन् २०१७ मा २०२१ सम्म चार वर्षका लागि सम्झौता गरेका थिए । बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका मोसीले ३५ उपाधि जितेका छन् । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिग छन् । ला लिगामा सर्वाधिक ४७४ गोलकर्ता खेलाडी पनि उनै हुन् ।