ओली पक्षको एकलौटी प्रस्ताव, एमाले एकता झन् जटिल मोडमा - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

ओली पक्षको एकलौटी प्रस्ताव, एमाले एकता झन् जटिल मोडमा


काठमाडौं । पार्टी एकताको पहल भइरहेका बेला नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला केपी ओली पक्ष एकलौटी रुपमा अघि बढेर प्रस्ताव पारित गरेको हो । नेपाल पक्षले बैठकहरु रोक्न माग गरे पनि विधान अधिवेशन गर्ने नै गरी ओली पक्ष अघि बढेको हो ।

संशोधन भएको प्रस्तावमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने व्यवस्था गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको हो ।

उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कार्यदलले बनाएको र स्थायी कमिटीबाट पारित विधान केन्द्रीय कमिटीमा पेश गरिएको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइएको छ । अध्यक्ष र महासचिव मात्र महाधिवेशनबाट निर्वाचित गरिने छ ।

अरु पदाधिकारी भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको तामाङले जानकारी दिए । २२५ केन्द्रीय कमिटी बनाइने प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउन प्रस्ताव गरिएको छ । स्थायी कमिटीबाट पारित उक्त विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा महाधिवेशनमा लगिने छ ।

माधव नेपाल–झलनाथ खनाल पक्ष सहभागि नभएको स्थायी कमिटी र केन्द्रीय कमिटीबाट विधान संशोधन जस्तो महत्वपूर्ण प्रस्ताव पारित गरिने भएपछि एमालेमा एकताको सम्भावना झन् जटिल बन्दै गएको देखिन्छ । एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।