मुख्यमन्त्री पोखरेलले दिए राजीनामा - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री पोखरेलले बुधबार दिएको राजीनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गरेका हुन् ।

प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत बुधबारको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाएका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१)बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।