अख्तियारले फसायो, दुश्मनी साँध्यो - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

अख्तियारले फसायो, दुश्मनी साँध्यो


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुस्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमा त्रुटी हुनु रहेको भन्दै त्यसलाई सच्याउने नेतृत्व कांग्रेसले लिनुपर्ने तर्क गरे ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उपसभापति गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ? तर, राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो ।’

उनले थपे, ‘मलाई थाहा पनि थिएन् सो विषयमा । तर, मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नु पर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनुपर्छ ।’

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । असारको अन्तिममा विशेष अदालतमा उपस्थित भएर चार घण्टासम्म बयान दिएपछि उनी छुटेका थिए । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।