दोस्रो कार्यकालमा कुलमानको प्रण - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

दोस्रो कार्यकालमा कुलमानको प्रण


काठमाडौं । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेका कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका घिसिङले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको उचाईलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि जिम्मेवारी दिएको उनले बताए ।

उनले भने,,‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनुभएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लानेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ ।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गरे । उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उनको योजना छ ।

घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले ऊर्जा आयोगका लगेर सम्मान गरेको पनि बताए । उनले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने पनि बताए ।

आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले आफ्नो कार्ययोजना रहेको सुनाए । अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको बताए ।

तत्कालीन नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उनले अवकाश पाएका थिए ।

आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई जिम्मेवारी दिएन । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताएका थिए ।

घिसिङको प्रण

घिसिङले निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने प्रण गरेका छन् । प्राधिकरण आफैको आयोजना नभए पनि सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजना लामो समयसम्म अगाडि बढ्न नसक्दा लागत र समय दुवै बढेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले अगाडि बढाएका आयोजनालाई आगामी एक वर्षभित्र पूरा गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

रसुवागढी, माथिल्लो साञ्जेन, तल्लो साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना चिलिमेका सहायक कम्पनीमार्फत अगाडि बढेका छन् । यस्तै, राहुघाट, माथिल्लो त्रिशूली थ्री बी जस्ता आयोजना समेत समयमै सम्पन्न गराउनेतर्फ आफू लाग्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

यस्तै अन्य केही ठूला आयोजनाको काम शुरु गर्ने गरी आवश्यक तयारी भइरहेकोसमेत उनले जानकारी दिए । माथिल्लो अरुण, दूधकोशी, तामाकोशी पाँचौं र चैनपुर सेतीको वित्तीय व्यवस्थापन गरेर सकेसम्म स्वदेशी लगानीमा नै अगाडि बढाउने योजनासमेत उनले सुनाए ।

माथिल्लो तामाकोशी सञ्चालनमा आउँदा त्यसले वार्षिक रुपमा झण्डै रु २० अर्ब बराबरको आम्दानी गर्ने भएकाले ठूला आयोजना अगाडि बढाउन स्रोतको कुनै अभाव नहुने उनले उल्लेख गरे । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाबाट ऋण लिएर भए पनि आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने उनको भनाइ छ ।

वितरण प्रणालीको सुधार तथा औद्योगिक क्षेत्रमा बिजुली खपत बढाउने योजनाका साथ आफूले काम गर्ने उनको प्रष्टोक्ति छ । यस्तै, बिजुली नपुगेका नागरिकको घरमा बिजुली पुर्‍याउनका लागि सबैका साथ र सहयोग जरुरी रहेको उनको भनाइ छ । हाल ९२ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्याङ्क उनले पेश गरे ।

बाँकी रहेको स्थानमा पनि एकाध वर्षभित्र बिजुली पुर्‍याउने, तराईका क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि प्रणालीको स्थापाना गर्ने आफ्नो योजना रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै, गुणस्तरीय बिजुली उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सकेसम्म सम्बोधन गर्ने उनले स्पष्ट पारे ।

देशभित्रै नै बिजुली खपत गर्ने योजनाका साथ काम गर्ने र बढी भएको बिजुली मात्रै भारत तथा बङ्गलादेशको बजारमा पठाउन सकिने उनको भनाइ छ । यस्तै, दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम समेत छिट्टै शुरु हुने उनले विश्वास व्यक्त गरे ।

निजी क्षेत्रलाई अर्धजलाशयुक्त प्रकृतिका आयोजनामा अगाडि बढ्न आफूले सुझाव दिएको भन्दै त्यस्ता आयोजनाले मात्रै राष्ट्रिय आवश्यकताको सम्बोधन गर्ने उनको भनाइ छ । काठमाडौँ उपत्यकामा भइरहेको बिजुलीको तार भूमिगत गर्ने काम प्रभावकारी हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

शहरको सौर्दय बढाउने तथा तार र पोलरहित बनाउने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्न नसेकेको भन्दै उनले बुधवारै निर्माण व्यवसायीलाई बोलाएर छलफल गर्ने जानकारी दिए । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै पनि कमजोरी हुन नहुने भन्दै उनले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्थासमेत कडाइका साथ लागू गर्ने घोषणा गरे ।