कांग्रेस युवाहरुले उठाए ‘बैचारिक विद्रोह’को बहस - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

कांग्रेस युवाहरुले उठाए ‘बैचारिक विद्रोह’को बहस


काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् ।

भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले शीर्ष नेताहरुले आगामी महाधिवेशनमार्फत पुस्ता हस्तान्तरण गर्न तत्पर रहनुपर्ने बताए । बउनले भने, ‘यतिबेला महाधिवेशन सुनिश्चितताका लागि उभिनुपर्ने बेला आएको छ । पार्टी बचाउने एजेण्डा लिएर अघि बढ्नुपर्ने बेला आएको छ । त्यसैले यस्तो बेला शीर्ष नेताहरुले नबुझे युवाहरु हिम्मत गरेर नेतृत्वमा आए मात्र कांग्रेस बचाउन सकिनेछ ।’

राजनीतिमा विद्रोहमार्फत मात्र नेतृत्व जन्मिने भन्दै कांग्रेस नेता लाओस राईले यतिबेला सबै मिलेर कांग्रेस बचाउने बेला आएको धारणा राखे । नहुने बेलामा कांग्रेस महाधिवेशनको मिति घोषणा गरेर नेताहरुले कार्यकर्तालाई रणभुल्लमा पारेको आरोप लगाउँदै राईले भने,‘कांग्रेसमा युवाहरुको भविष्य सुन्दर छ । त्यसका लागि लोकतान्त्रिक समाजवादलाई आत्मसाथ गर्दै बैचारिक विद्रोह जरुरी छ ।’

नेविसंघ पूर्व केन्द्रीय सदस्य विरेन्द्र कुमार शर्माले कांग्रेसको मुहार फेरिए मात्र नेपालको मुहार फेरिने भएकाले त्यसका लागि युवाहरु तत्पर हुनुपर्ने धारणा राखे । उनले भने,‘समाज राम्रो बनाउन नेताहरुसँग प्रश्न राख्न सक्ने हिम्मत युवाहरुले गर्नुपर्छ तर अग्रज नेताहरुसँग लम्पसार पर्नु युवाहरुका लागि दुर्भाग्य हुनेछ ।’

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य महेश नेपालीले समाज रुपान्तरण गर्ने राजनीति आवश्यक रहेकाले कांग्रेस युवाहरुले सम्हाल्नुपर्ने बताए । नेपाल मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा बादलले कांग्रेसका युवाहरुमा विद्रोही भावना आवश्यक रहेको बताउँदै चाकरी प्रथाको अन्त्य हुनेपर्ने धारणा राखे ।

नेविसंघ दोलखाका सभापति भीम खड्काले युवाहरुको निरिहपनाका कारण पार्टीको बैधानिकता संकटमा परेकाले युवाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै नेतृत्वमा आउनुपर्ने बताए ।

कांग्रेस नेता प्रकाश महर्जनले नेतृत्वले युवाहरुलाई भत्काउन र तोडफोड गर्न मात्र प्रयोग गरेको तर अवसरमा बन्चित गरेकोमा चिन्ता ब्यक्त गरे । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सानुबाबु महर्जन, कांग्रेस प्यूठानका नेता विरेन्द्र थापा, नेविसंघ नेता सुदर्शन शर्मा, ध्र्रुव गैरेलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमका सहभागीहरुले आगामी दिनमा पार्टी सुदृढ बनाउन र नेताहरुलाई खबरदारी गर्न बैचारिक बहसलाई निरन्तरता दिने बताए ।