केपी ओली वर्तमान युगको कालिदास - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

केपी ओली वर्तमान युगको कालिदास


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ ।

उहाँले आफ्नो खुट्टा आफैं काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्यास लिनुपर्ने अवस्था छ । अलिकति पनि इज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिएपनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?’,श्रेष्ठको प्रश्न छ ।

प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने,‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’

साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि सुनाए । कांग्रेस, नेकपा दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेद्धवारको नाम अघि बढ्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘तीन दल हुन्छ कि कांग्रेस र नेकपामात्रै हुन्छ ? यो टुंग्गिएको छैन् ।

नेकपाको आन्तरिक विभाजन जो छ, कानूनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाहीँ प्राकृतिक हुनुपर्छ । अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जानेखालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समिक्षा गरौं । नयाँ आधारहरु कसरी बन्छ ? अनि मात्रै तय हुन्छ ।’

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले सुनाए ।

श्रेष्ठले यसअघि नै संसदमा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिज्ञासा राखेको पनि सुनाए । जवाफमा दाहाल–नेपालले हिजोमात्रै नेपाली कांग्रेससँग वार्ता गरेको सुनाएका थिए । दाहाल–नेपालले भनेको कुरा सुनाउँदै उनले भने,‘हिजोको परिस्थितिमा समस्या टार्नको लागि, ओलीजीको कदम रोक्न त्यो कदम चाल्यौं ।

तर, उहाँहरुले संसद् विघटन गर्नुभयो । आजको नयाँ परिस्थितिमा तीन वटा पार्टी हामी, कांग्रेस र तपाईंहरु बसौं, जसको नाममा सहमति हुन्छ, त्यसलाई वैकल्पिक प्रधानमन्त्री सहित नयाँ प्रस्ताव दर्ता गर्न सकिन्छ ।’ उनले अहिले नै को प्रधानमन्त्री बन्छ ? भनेर न्वारान गर्ने बेला भैनसकेको पनि टिप्पणी गरे ।

उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे । श्रेष्ठले भने,‘पहिला बच्चा जन्मनुपर्यो । अनिमात्रै न्वारान हुन्छ । कसको समिकरण बन्छ ? भन्ने कुरा बाहिर आउनुपर्छ । नेकपा राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा विभाजन भएको छैन् । अहिले बहुमतको विपक्ष भैरहेको छ । यो अवस्था सिर्जना भैरहेको छ । कानूनी रुपमा पनि मान्यता प्राप्त हुनुपर्छ । औपचारिक रुपमा विभाजन भएपछि नै प्रक्रिया अघि बढ्छ । अहिले यो कुरा जगजाहेर छ । राजनीतकि रुपमा विभाजन भयो नेकपा । कानूनी रुपमा एउटै छ । विभाजनको प्रक्रिया पूरा भएको छैन् । अनिमात्रै थप छलफल हुन्छ ।’

"