कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा


काठमाडौं । अन्ततः नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन नयाँ मिति निर्धारण गरेको छ । महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म संचालन गरी सम्पन्न गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्य समितिको शनिबार बुढानिलकण्ठमा बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको छ ।

अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको छ ।

कांग्रेसको वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यतामा विशेष चासो दिएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठकमा शुक्रवार बोल्ने केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यतामा केन्द्रित भएर आफ्ना धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरुले आगामी भदौमा १४औँ महाधिवेशन हुनुपर्ने, महाधिवेशन मङ्सिरमा गर्नुपर्ने, कोभिड(१९ का कारण महाधिवेशन गर्न नसकिने, महाधिवेशन गर्ने अन्य बैकल्पिक उपाय र जनजीविकालगायतका विविध विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।