काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीले देश छाडे - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीले देश छाडे


काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालीबानी लडाकुले राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

बीबीसीकाअनुसार तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको हुन । काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।

यता, अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले त्यस्तो बताएका हुन् । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने गृहमन्त्रीले पठाएको रेकर्ड सन्देशमा भनेका छन् । ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन’, उनले भनेका छन् ‘शहरमा कुनै हमला हुँदैन ।’

तालिबानीहरुले राजधानी काबुल प्रवेश गरेको बताइएको छ । आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण शहर जलालवादसँगै दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्। त्यसलगतै अफगानिस्तानको राजधानी कब्जा गर्ने तयारीमा रहेको लडाकुहरुले शान्तिपुर्वक शहर छाडन भनेका थिए ।

तालिबानहरू काबुल पसेपछि संयुक्त राज्य अमेरिकाले भने आफ्नो राजदूतावासका कर्मचारीहरूलाई हेलिकप्टरबाट हमिद कारजाई विमानस्थलमा पुर्‍याएको छ।

पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै शहर कब्जा गरेका छन्। हिंसाका कारण साढे दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २००१ देखि अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो सैनिकले धमाधम अफगानिस्तान छाडिरहेका छन्।