सदनमा अफगानिस्तानको चर्चा: नेपालीको उद्धार गर्न ढिला भयो - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सदनमा अफगानिस्तानको चर्चा: नेपालीको उद्धार गर्न ढिला भयो


काठमाडौं । अफगानिस्थानमा रहेका नेपालीहरुको संकटमा परेको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदले तत्काल उद्धार गरेर फर्काउन सरकारलाई दबाब दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । सांसद मनकुमारी जिसीले आफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औल्याइन । सांसद रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आआफ्ना नागरिक फिर्ता बोलाए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताइन ।

सांसद विमला नेपालीले सर्बोच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रैका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाझिएको तथा यसले दलित, मधेशी, महिलालगायतको अपमान गरेको बताए । सांसद भरकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने बताए । सांसद मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढी, पहिराको आक्रन्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन ।

सांसद मोहन बानियाँले सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्याङ्क नभएकाले म्यानपावरको तथ्याङ्कमा भर परेको बताए । सांसद यज्ञबहादुर सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने हुनसक्ने अफगानिस्तानबाट देखिएको बताए ।

सरकारी पहल

प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा संकटमा परेका नेपाली नागरिकको उद्धार गर्ने दायित्व सरकारको भएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत उनले भने, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’ उनले अगाडि भने,‘ सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको पनि बताए । यता परराष्ट्र मन्त्रालयले पनि त्यहाँ रहेका नेपालीहरुको विवरण संकलन शुरु गरिसकेको जनाइएको छ ।

त्यस्तै सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वायत्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताए ।

"