अध्यादेशबारे नेपाल समूहमा मतभेदः पार्टी फुटको डिलमा - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

अध्यादेशबारे नेपाल समूहमा मतभेदः पार्टी फुटको डिलमा


काठमाडौं ।  सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको बानेश्वरस्थित एक होटलमा भएको नेपाल समूहको बैठकमा नेताहरुले दल विभाजन अध्यादेश र त्यसपछिको रणनीतिबारे छलफल गरेका थिए ।

बैठकपछि नेता विरोध खतिवडाले ओलीको जालझेलका विषयमा छलफल गरेको भन्दै रातिसम्म सुध्रिएर आए नयाँ बाटो नहिँड्ने अन्यथा राजनीति जाम भएर बस्दैन भन्ने प्रतिक्रिया दिए । खतिवडाले आफूहरुसँग ४० प्रतिशत सांसद रहेको दाबी गर्दै महन्थ ठाकुरका लागि सहज बनाइदिन २० प्रतिशतको व्यवस्था गरिएको पनि बताए ।

उता, सरकारले ल्याएको अध्यादेशको नेपाल पक्षकै एकता वार्ता कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले दल विभाजन अध्यादेश प्रतिगामी रहेको भन्दै फिर्ता लिन दबाब दिन अपील गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यको समर्थनमा दल विभाजन गर्न पाइने गरी अध्यादेश ल्याउने निर्णय गर्नु खेदजनक रहेको र यसले दुःखद परिणाम ल्याउने चेतावनी दिएका हुन् ।

दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नु गलत भन्दै उनले अध्यादेश ल्याउने निर्णय प्रतिगामी भएकाले फिर्ता लिन दबाब दिनुपर्ने उल्लेख गरे ।

दल विभाजन गर्ने विषयमा नेपाल समूहमा एकमत बन्न सकेको छैन । नेताहरु भीम रावल, घनश्याम भुषाल, विष्ट, भीम आचार्य, योगेश भट्टराईलगायत विभाजनभन्दा कुने न कुनै बाटो खोजेर एकता गरिनुपर्नेमा रहेका छन् ।

यता, माधवकुमार नेपालले पार्टी फुटको डिलमा पुगेको बताएका छन् । आफू पक्षीय ६ वटा जनवर्गीय संगठनले मंगलबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पार्टी फुटको डिलमा पुगेको बताएका हुन् । एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गरे ।

पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । नेता नेपालले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै गल्ती स्वीकार गरेर आए अहिले नै एकता हुने नभए चुनावमा तालमेल गरेर जान सकिने बताए ।