तालिम केन्द्रको भवन शौच गर्ने र नशा सेवन गर्ने अड्डा ! - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

तालिम केन्द्रको भवन शौच गर्ने र नशा सेवन गर्ने अड्डा !


रुकुमपश्चिम । नगरपालिका स्तरीय तालिम केन्द्रको लागि लाखौं सरकारी बजेट खर्चेर बनाइएको दुई सरकारी भवन उपयोग नहुँदा शौचालय, भट्टि र नशा सेवन गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १० मैडाँडा रहेका नगरपालिका स्तरीय तालिम केन्द्रका दुईओटा भवन निर्माण सम्पन्न भएको तीन बर्षसम्म प्रयोग नहुँदा दुरुपयोग हुन थालेको हो ।

करिब२० लाख बजेट खर्चेर बनाइएका ६ कोठे दुई ओटा भवनमा अहिले गोठालो जानेहरुको ओत लाग्ने ठाँउ बन्नुका साथै चर्पिको रुपमा प्रयोग हुन थालेको, कतिपयले लुकेर रक्सी तथा गाँजा सेवन गर्ने ठाँउमा रुपमा प्रयोग हँुदै गएको स्थानीयले बताएका छन् ।

स्थानीय युवा अभिशेष केसीले सरकारी सम्पतिको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए । उनले भवन निर्माणको काममा रकम दुरुपयोग गर्नलाई बनाएको हो कि ? भन्ने प्रश्न गर्दै निर्माण भएको भवन दुई बर्षसम्म प्रयोग नहुँदा चारैतिरबाट तोडफोड हुन थालेको समेत जनाए ।

अर्का स्थानीय गोविन्द शाहीले लाखौं सरकारी रकम खर्चेर तालिम केन्द्रको नाममा बनाइएको भवन प्रयोग नहुँदै भत्किदै जानेमा चिन्ता व्यक्त गरे । उनले तालिम केन्द्रको काममा एक सिन्को पनि उक्त भवन प्रयोग नभएको भन्दै अहिले लुकामारी खेल्ने, अबैध काम गर्ने काममा दुरुपयोग हुदै गएको बताए । उनले प्रत्यक्ष आँखाले देखिएका सार्वजनिक भवन यसरी तोड हुदै जाँदापनि स्थानीय सरकारले सदुपयोग गर्न चासो नदेखाएको गुनासो समेत गरे ।

यस बिषयमा आठबिसकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चनाराले तीनबर्ष पहिले नगर स्तरीय तालिम केन्द्रको नाममा बनाइएको भवन प्रयोगविहिन भएको उल्लेख गरे ।

‘भवन वडाको पायक ठाउँमा भएन, अपायक ठाउँमा हुँदा वडा स्तरका कार्यक्रम गर्न पनि असहज भएको छ’ वडा अध्यक्ष चनाराले भने, ‘यसको सदुपयोग गर्नेबारे नगरपालिकामा पनि पहल गरिनेछ ।’ उनले बिभिन्न तालिमहरुको प्रयोजनका लागि नगरपालिकाको बजेटबाट बनाइएको भवन यसै बर्ष तारबार गरेर दुरुपयोग हुनबाट जोगाइने जनाए ।

"