अन्ततः फुट्यो एमाले: ५० बर्षपछि ओली र नेपालको ‘डिभोर्स - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

अन्ततः फुट्यो एमाले: ५० बर्षपछि ओली र नेपालको ‘डिभोर्स


काठमाडौं । एकताका लागि पटक पटकका प्रयासहरु असफल भएपछि अन्ततः नेकपा एमाले औपचारिक रुपमै विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित भएको हो ।

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ । उनीहरु दल दर्ताका लागि आयोग पुगेका हुन् ।

नेपाल अध्यक्ष र खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीमा बाँकी सबै केन्द्रीय सदस्य रहेका छन् । नेता राजेन्द्र पाण्डेका अनुसार केन्द्रीय कमिटी ९५ जनाको हुनेछ ।

आयोग परिसरमा नेता पाण्डेले भने, ‘एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ता गर्ने निर्णय ग¥यौँ । एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने काम गरे । संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौँ । कतैबाट पनि सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौँ । चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्नेछौँ ।’

शुरुमा नेपाल पक्षलाई पार्टी विभाजनमा साथ दिने बताएका एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन् । चुनाव चिह्नबारे टुंग्गो लागि नसकेको भन्दै पाण्डेले किताव प्रस्ताव गरिए पनि उक्त चिह्न अरु नै दलको नाममा रहेकाले कलम वा अरू केही हुनसक्ने बताए ।

नेपालले नयाँ दल दर्ता गराए पनि उनको पक्षमा रहेका दोस्रो तहका नेताहरुले भने अन्तिम समयमा आएर पार्टी फुटाउन भने साथ दिएनन् । यसरी साथ नदिनेमा अधिकांश उनी पक्षीय स्थायी कमिटीका नेताहरु छन् ।

कम्युनिष्ट पार्टीको इतिहासमा केपी ओली र माधव नेपाल पचास वर्षपछि अलग अलग पार्टीमा विभाजित बनेका हुन् । पचास वर्षसम्म उनीहरु दुवैजना कुनै न कुनै जिम्मेवारीमा एउटै पार्टीभित्र रहेका थिए । एमाले जन्माउने र हुर्काउनेमा उनीहरुको योगदान निकै महत्वपूर्ण मानिन्छ । २०४७ सालमा एमाले गठन गर्ने मध्येका एक नेपाल सधैँ एमालेको संस्थापन धारमै थिए तर ओलीले पार्टीबाट निकालिदिने र सडकमा फालिदिने काम गरेपछि नयाँ दल दर्ता गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएलगत्तै नेपालको प्रमुख पार्टी एमालेका लागि विभाजनको बाटो खुलेको हो । नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गर्नलाई अध्यादेश कुरिरहेका थिए ।

नयाँ पार्टीका लागि माधव समूहले नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार गरेको छ । पार्टीको चुनाव चिह्न कलम वा कुनै रूपमा सूर्य राखेर जाने तयारी गरेको थियो । तर नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलग भएका छन् ।