निर्वाचन आयोगको प्रश्न: माधव नेपालसँग २० प्रतिशत सांसद छन् ? - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

निर्वाचन आयोगको प्रश्न: माधव नेपालसँग २० प्रतिशत सांसद छन् ?


काठमाडौं । निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग कति प्रतिशत सांसद छन् भन्ने खुलाएर पठाउन पत्राचार गरेको छ ।

आयोगले प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग नेकपा (एमाले)का २० प्रतिशत सांसद भए नभएको जानकारी दिन पत्र लेखेको हो । आयोगले दल दर्ताका लागि आएका सबै सांसदहरुको नामावली पनि संसद् सचिवालयमा पठाएको छ ।

एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्क्याए पनि सभामुख अग्नी सापकोटाले त्यसबारे कुनै निर्णय लिनु भएको छैन ।

संसद् सचिवालयले प्रस्तावित पार्टीका सांसदहरु पदमुक्त भएको जानकारी गराए आयोगले केन्द्रीय समितिको २० प्रतिशतबाट दल दर्ता गराउने तयारी गरेको बुझिएको छ । आयोगले सनाखतका लागि यही भदौ ९ गते नेपाल पक्षमा लागेका सांसदहरुलाई बोलाएको छ ।

‘नेपाल समूहले दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ, उहाँहरुको अलग भइजाने दलको कूल सांसदमध्ये २० प्रतिशत वा सो भन्दा बढी छ की छैन भनेर आयोगले संसद सचिवालयलाई सोधेको हो,’ निर्वाचन आयोग स्रोतले भन्यो ।

एमालेले भने नेता नेपालसहितका १४ जना प्रतिनिधि सभाका सदस्यलाई कारबाही गर्न भन्दै संसद सचिवालयमा पत्र पठाएको छ । तर सो पत्रका बारे भने संसद सचिवालयले कुनै निणर्य लिएको छैन ।