कांग्रेस क्रियाशील सदस्यताको गन्जागोल - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

कांग्रेस क्रियाशील सदस्यताको गन्जागोल


काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको घोषणा एकतर्फी रुपमा गरिएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको बताइएको छ ।

सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।

नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय सीमा तोकिएकोमा ढिलो गरी समितिले सोमबार बुलुकी मात्रै प्रतिवेदन बुझाएको हो ।

यसअघिको छानविन समितिले अधिकांश जिल्लाको विवाद समाधान गरे पनि बारा, सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतमा भने समाधान गर्न सकेको थिएन । जसको लागि सिटौला नेतृत्वको नयाँ समिति गठन गरेर विवाद समाधानको जिम्मा दिइएको थियो । कांग्रेसको १४औँ महाधिवेसन कार्यतालिका अन्तर्गत यहि भदौ १८ गते वडा अधिवेसनको कार्यतालिका रहेको छ ।

यद्यपी, विवाद समाधान अझै भइनसकेको बताइएको छ । किनकी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच विवाद समाधनका लागि निरन्तर छलफलमा छन् । छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधानका लागि शीर्ष तहमा नै प्रयास भइरहेको हो । कतिपय नेताहरुले क्रियाशील विवाद समाधान भइसकेको दाबी गर्दै आएका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलले विवाद समाधानका विषयमा छलफल जारी रहेको र टुंगिन बाँकी नै रहेको जानकारी दिए । क्रियाशील सदस्यता विवाद समाधान नभएपछि जिल्ला सभापतिहरूले मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएका छन् ।

महाधिवेशन समयमा नगरेको, तोकिएको समयमा पनि महाधिवेशन गर्ने वातावरण पार्टी नेतृत्वले नबनाएको, वडा तहबाट सिफारिस भएर आएका सदस्यतालाई हटाएर केन्द्रबाट मनोमानी ढङ्गबाट सदस्यता थप गरेको, पार्टी नेतृत्व नै विवादित सदस्यताका विषयमा समाधान खोज्न र विकल्पमा जान तयार नभएको, विधानमा भएको व्यवस्थालाई इन्कार गर्दै अघि बढेको लगायतका मागसहित काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूले मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिन लागेका हुन् ।

 

"

"