५० करोड लागतमा अमेरिकी आरसी कोलाको नेपालमै उत्पादन - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

५० करोड लागतमा अमेरिकी आरसी कोलाको नेपालमै उत्पादन


काठमाडौं । सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ ‘आरसी कोला’को ५० करोड लागतमा नेपालमै उत्पादन सुरु गरिएको छ । नेपालमा भेन्चुरा बोटलर्स प्रालिले उत्पादन सुरु गरेको आरसी कोला विभिन्न फरक स्वादमा उपलब्ध छन् ।

प्रोडक्ट लन्च कार्यक्रम गरि घोषणा गरिएका उत्पादनमा आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर रहेको भेन्चुरा बोटलर्स प्रालिका निर्देशक सुवास आचार्यले जानकारी दिए ।

आरसी, अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त उत्कृष्ट कार्बोनेटेड सफ्ट पेय पदार्थ भएको आचार्य बताउँछन् । अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली पानीसँग मिसिएर बोतल भरिन्छ । यसको आवश्यक कच्चा पदार्थ अमेरिकाको जर्जिया प्रान्तको कोलम्बसबाट आयात गरि मकवानपुरमा उत्पादन गरिएको आचार्य बताउँछन् ।

आर सीका उत्पादनहरु अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको भेन्चुरा बोटलर्स प्रालिका सिइओ कबिन अर्यालले बताए ।

उपभोक्ता सन्तुष्टि र उत्पादनको गुणस्तरमा सम्झौता नहुने अर्याल बताउँछन् । 'यस पेय पदर्थको नेपालका लागि उत्पादन तथा बितरण गर्ने घोषणा गर्न पाउँदा हामी हर्षित छौं’, अर्याल थप्छन् ‘आरसी कोलालाई विश्वव्यापी उपभोक्ताको ११६ वर्ष सम्म स्नेह रहेको छ र यो अझै पनि अटुट छ।’

६७ राष्ट्रले स्वीकार गरेको संसारको एक पुरानो, मौलिक र श्रृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्र्याउन पाउनु गौरवको कुरा रहेको अर्यालको भनाइ छ। हाल काठमाडौ उपत्यकामा उपलब्ध आरसी कोलाका उत्पादन बिक्रीवितरण गर्न चाहने र थप जानकारी लिन चाहनेले ९८०१८८९१०२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।