कांग्रेस महाधिवेशनलाई समय र कोभिडको जटिलता - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

कांग्रेस महाधिवेशनलाई समय र कोभिडको जटिलता


काठमाडौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको जनाएको छ । क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएसँगै यही भदौ १८ गते तोकिएको काँग्रेसको गाउँ/नगर वडा अधिवेशन हुन सक्ने संभावना बढेको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएसँगै महाधिवेशन हुनेमा आशा पलाएको छ ।
 
सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएका थिए । क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेता सिटौलासहित केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी प्रदान गरेको थियो ।
 
सभापति देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण हुनेछ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै एक/दुई दिनभित्र सम्पूर्ण जिल्लामा पुर्‍याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उनले बताए ।
 
निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पुर्‍याउने लक्ष्य राखेको छ ।
 
उक्त सबै सामग्री छपाइको सम्पूर्ण काम सम्पन्न भइसकेको र सबै वडा तथा निर्वाचन समितिका लागि करिब सातदेखि आठ हजारको बण्डल बनाएर देशभर पठाइने उनले बताए । समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड–१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ । 
 
अधिवेशनका लागि समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानून व्यवसायीहरुबाट सबै जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ । निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका पार्र्टी सभापति र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरमा मतदान अधिकृत तोक्ने संयोजक यादवले बताए ।
 
काँग्रेसले पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यासका लागि विधानमा संशोधन गरी टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको तहगत व्यवस्था गरेको छ । नयाँ विधानअनुसार काँग्रेस केन्द्रीय कार्यसमिति एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १६८ सदस्यीय हुनेछ ।
 
गत साउन ३० गतेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरेको छ ।   
 
साउन ३० गतेकै केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार काँग्रेसको गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

"