एमाले फुटाएकोमा ओलीको आक्रोश: एउटा व्यक्तिका लागि कानुन बनाइयो - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

एमाले फुटाएकोमा ओलीको आक्रोश: एउटा व्यक्तिका लागि कानुन बनाइयो


काठमाडौं । केपी ओलीसँग दशकौं सँगै राजनीति गरेर नेकपा एमाले जन्माउन हिस्सेदार भूमिका निर्वाह गरेका माधव कुमार नेपाल नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेका बेला ओली पत्रकार सम्मेलन गरेर नेपालमाथि तिखो प्रहार गरेका छन् । अध्यक्ष ओलीले नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाए । उनले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले विल्कुलै झूट बोलेको दावी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न चेतावनी दिए ।

उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसायनै फरक रहेको दावीसमेत गरे । ‘एमाले फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ?’, अध्यक्ष ओलीको प्रश्न थियो ।

सरकारले बदनियतका पार्टी फुटाउने अध्यादेश ल्याएर अनुचित कार्य गरेको अध्यक्ष ओलीको भनाइ छ । सरकार अनैतिक काममा लागेको आरोप लगाउँदै उनले देश जोगाउनका लागि अध्यादेश ल्याएको भन्नेहरुलाई अध्यादेश नआएको भए देश के हुन्थ्यो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउथ्यो ? यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो यो देश खर्तक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने ? देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि !’

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दावीसमेत गरे । आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको जिकिर गर्दै उनले वर्तमान सरकार आफैँले विकास निर्माणको काम ठप्प पारेको आरोप लगाए । ओलीले दीर्घकालीन खालका आयोजनाहरूको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे ।

उनले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरे । उनले पार्टीले निश्कासन गरेका आफ्ना सांसदहरूको मुद्दा विचाराधिन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको अध्यक्ष ओलीको आरोप छ । उनले सभामुख सापकोटाका पछिल्ला गतिविधि खेदजनक रहेको औंल्याए । ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले लोकतन्त्रका लागि लडेका प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा व्यक्तिका लागि कानुन बनाउने जस्तो काम गरेकोमा आफू आश्चर्य चकित भएको टिप्पणी समेत गरे । लामो समय ओलीको विरोधीका रुपमा रहेका युवराज ज्ञवाली र भीम रावललाई सँगै राखेर सम्बोधन गरेका उनले अधिकांश समय विपक्षीलाई गालीगलौज र खिल्ली उडाएका थिए ।