प्रस्तावित दुई नयाँ पार्टीका लागि सनाखत सकियो - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

प्रस्तावित दुई नयाँ पार्टीका लागि सनाखत सकियो


काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दल दर्ताको सनाखत सकिएको छ ।

आयोगले पार्टी सनाखतका लागि बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएका थियो । प्रस्तावित नेकपा एकीकृत समाजवादीका ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यले आयोग पुगेर सनाखत गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पार्टीको दल दर्ताको सनाखत सकिएको जानकारी दिए । सनाखत सकिएपछि प्राप्त प्रमाणबारे आयोगका पदाधिकारीले छलफल गरेर यसबारे निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि सङ्घीय संसद र केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ ।

यस हिसाबले सरकारले दल विभाजनसम्वन्धि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको व्यवस्था गर्दै ल्याएको अध्यादेश अनुसार एमालेको केन्द्रीय कमिटीको कूल २०३ संख्या मध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्नका लागि नेपाल समूहले आयोगमा पुर्याउनु पर्ने हुन्छ ।

यस्तै नयाँ थप सहित नेपालले नेतृत्व गर्ने दलमा ११५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर आयोगमा बुझाइएको थियो । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ ।

"