माधव र महन्थ नेतृत्वको एकीकृत समाजवादी र लोसपालाई वैधता - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

माधव र महन्थ नेतृत्वको एकीकृत समाजवादी र लोसपालाई वैधता


काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) निर्वाचन आयोगबाट बैधता पाएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको समाजवादीलाई आयोगले बुधबार अपरान्ह दर्ता प्रमाणपत्र दिएको छ ।

१६६ नम्बरमा दर्ता भएको उक्त पार्टीका नेताहरुले परिचयरपत्र सहित आयोग कार्यालयमा पुगेर बुधबार नै दिउँसो २ बजेसम्म सनाखत गरेका थिए । एमालेबाट अलगिएका २९ सांसद र ५५ केन्द्रीय सदस्यले सनाखतका लागि हस्ताक्षर गरेका थिए ।

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३(दोस्रो संशोधन अध्यादेश २०७८)को दफा ३३ बमोजिम आयोगले दर्ता प्रमाण पत्र दिएको हो ।

त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले(लोसपा)दलको मान्यता पाएको छ । १४ जना संघीय सांसदसहित १७ जना रहने गरी आयोगले मान्यता दिएको हो । १६७ दर्ता नम्बर रहेको लोसपाको तर्फबाट सांसद रेशम चौधरीको सनाखत आयोगले गर्न मानेन् ।

अब आयोगले संसद सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी पठाउने छ । त्यसपछि संसदीय दलबाट पनि यी दल छुट्टै अस्तित्वमा आउने छन् ।

"