मङ्गलादेवीलाई सम्झनुपर्ने आधार - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

मङ्गलादेवीलाई सम्झनुपर्ने आधार


काठमाडौं । नेपालको संविधानले राज्यका हरेक नीति निर्माण तहमा महिलाको ३३ प्रतिशतको सुनिश्चितता गरेको छ । सङ्घीय संसदमा महिलाको ३३ प्रतिशत, प्रदेश सरकारमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत पुगेका छन् । आज महिलाहरुको सहभागिता यो अवस्थामा आउनुमा मङ्गलादेवी सिंहले उठाएको आवाज र उनको योगदालाई स्मरण गर्ने गरिन्छ ।

नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न मात्र होइन राज्यको हरेक तहमा महिलाहरुको सहभागिता हुनुपर्छ भन्नेमा मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको इतिहासले स्थापित गरिसकेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहेकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन ।

स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उनी जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन ।

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउछिन् । मङ्गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उनको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो”, उनी भन्छिन् ।

मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष भएकी थिइन् । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी जुलुस लिएर राणाको दरबार पुगेकी थिइन् । विसं २००७ को सशस्त्र क्रान्तिमा उनले ठूलो भूमिका निर्वाह गरेकी थिइन । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठूलो योगदान रहेको बताउँछिन् “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उनकै योगदानबाट सम्भव भएको हो”, उनी भन्छिन् ।

उनलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उनी विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहेकी थिइन् । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहेकी थिइन । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमाउनी पराजित भइन । उनले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गरेकी छिन् । सिंहको निधन विसं २०५३  भदौ १० गते भएको थियो ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उनका छोरा हुन् । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज विहीबार नेपाल महिला सङ्घ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उनको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए । मङ्गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उनको शोभाभगवतीस्थित शालिकमा माल्यापर्ण कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा गरिएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमानलगायत नेताले शालिकमा माल्यार्पण गरे ।