मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, भागबन्डा सहमति नजिक - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, भागबन्डा सहमति नजिक


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेका छन् । एमालेबाट अलग भएका माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेसँगै देउवाले तयारी थालेका हुन् । एमालेबाट औपचारिक रूपमा विभाजित भएपछि नेपाल समूहलाई सरकारमा जान बाटो खुलेको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालबीच मन्त्रिमण्डलमा सहभागी हुनका लागि भागवण्डा मोटामोटी मिलेको छ ।
समझदारीअनुसार भदौ १३ पछिमात्र मन्त्रिपरिषद विस्तार हुने भएको छ । बालुवाटार स्रोतका अनुसार मन्त्रीको नाम आएपछि १४ भदौमा सरकार विस्तार गर्ने देउवाको तयारी छ । कुन दलबाट कति मन्त्री रहने भन्नेबारे मोटामोटी सहमति भएको बताइएको छ ।

हाल काँग्रेसबाट प्रधानमन्त्रीसहित दुई फुलमन्त्री र एक राज्यमन्त्री गरी चार जना सरकारमा छन् । यस्तै माओवादी केन्द्रबाट सरकारमा दुईमन्त्री छन् । अब काँग्रेसले तीन मन्त्रालय पाउने छ । यो सहित काँग्रेसको भागमा छ फुलमन्त्री र एक राज्यमन्त्री रहनेछन् ।

यस्तै माओवादी केन्द्रले अब तीन फुलमन्त्रीसहित एक राज्यमन्त्री गरी चार, माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) ले एक राज्यमन्त्रीसहित ६, उपेन्द्र यादव नेतृत्वको दल जसपाले पनि एक राज्यमन्त्रीसहित छ मन्त्रालय लिने गरी सहमति गरिएको छ । स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने सम्भावना छ । यसरी जिम्मेवारी फेर्दा कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी छ ।

यस्तै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सोही मन्त्रालयमा फुलमन्त्री बनाउने देउवाको तयारी रहेको बताइन्छ । कानुन मन्त्रालय भने काँग्रेसकै भागमा हुनेछ । २९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल काँग्रेस र माओवादीबाट दुई(दुईमन्त्री नियुक्त गरेका थिए ।