विवादकै बीच कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्यो, निर्वाचन अधिकृत खटाइयो - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

विवादकै बीच कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्यो, निर्वाचन अधिकृत खटाइयो


काठमाडौं । क्रियाशील सदस्यताका विषयमा केही शीर्ष नेताहरूको असहमतिका वाबजुत नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा तहको महाधिवेशनको प्रक्रिया अघि बढाएको छ भने ४८ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक गरेको छ।

काँग्रेसको निर्वाचन समितिले बिहीबार ३८ र शुक्रवार १० गरी ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो। काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख)बमोजिम केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा नामावली प्रकाशित गरेको छ।

भदौ १८ गते हुने तल्लो तहको अधिवेशन गर्न ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने क्रियाशील सदस्यताको किचलो टुंगिनासाथ बाँकी जिल्लामा निर्वाचन अधिकृत खटाउन समिति तयार देखिएको छ । कांग्रेसले तय गरेको १४ औं महाधिवेशनको सिलसिलामा वडा अधिवेशनको मिति आउन एक हप्ता बाँकी रहँदा समेत क्रियाशील सदस्यतामा भइरहेको विवादले महाधिवेशनको अन्योलता बढाइदिएको छ ।

विवाद साम्य पार्न क्रियाशील सदस्यता छानविन समितिलाई हम्मे–हम्मे परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह क्रियाशीलको प्रतिवेदन सैद्धान्तिक रूपमा कार्यान्वयनमा आए पनि व्यावहारिक रूपमा नआएको बताएका छन् । यसको सोझो असर केन्द्रीय निर्वाचन समितिको कामकाजमा परेको संयोजक महादेवप्रसाद यादवले बताए ।

वडा अधिवेशन हुनुभन्दा ५३ दिन अगाडि नै क्रियाशील सदस्यताको अन्तिम सूची दिन निर्वाचन समितिले पटक–पटक आग्रह गर्दै आएको थियो । तर, विवाद नटुंगिदा समितिले पर्याप्त समय नपाउने स्थिति बनेको छ । यद्यपि समिति संयोजक यादव युद्धस्तरमा खटिएर भए पनि महाधिवेशन गराउने बताउँछन् ।

निर्वाचन समितिले कानुन व्यवसायी, प्राध्यापक र शिक्षक संघका प्रतिनिधिहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । यसपटक क्रियाशील सदस्यको संख्या कुल नौ लाख पुग्ने बताइएको छ । करिब ५० हजार क्रियाशील सदस्य त विदेशस्थित जनसम्पर्क समितिमै छन् ।

कांग्रेसको १४ औं महाधिवेशनको सिलसिलामा गाउँ तथा नगरका वडा, गाउँ तथा नगर कार्यसमिति, जिल्ला समिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय समितिका विभिन्न पदमा निर्वाचितलाई बाँड्न निर्वाचन समितिले चार लाख प्रमाणपत्र छपाइका लागि पठाइएको छ ।

निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

यसैगरी भदौ ११ गते समितिले धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख, अछाम, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख, अछामको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

 

"