महाधिवेशनमा होमियो कांग्रेसः निधिले खोले सम्पर्क कार्यालय - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

महाधिवेशनमा होमियो कांग्रेसः निधिले खोले सम्पर्क कार्यालय


काठमाडौं । क्रियाशीलत विवाद समाधानउन्मुख भएसँगै सत्तारुढ नेपाली कांग्रेस १४औं महाधिवेशनतर्फ केन्द्रीत भएको छ । सभापतिमा आकाक्षा देखाएका नेताहरुले आफ्नो सम्पर्क कार्यालय खोलेर महाधिवेशनमा होमिएका छन् । हालका उपसभापति तथा सभापतिका प्रत्यासी विमलेन्द्र निधीले पनि शुक्रबार सम्पर्क कार्यालय खोलेर प्रचार थालेका छन् ।

उनले काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैंकटमा सम्पर्क कार्यालय खोलेका हुन् । उक्त कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा वीपी कोइरालालाई स्मरण गर्दै निधिले भने,‘आजको दिनमा विशेष गरेर म बिपी कोइरालालाई सम्झन चाहन्छु। उहाँकै देन र सहयोगले आज म स्थानमा उभिएको छु। उहाँकै सहयोगमा मैले नेपाल विद्यार्थी संगठनको केन्द्रीय सभापति हुने मौका पाएको थिएँ। उहाँप्रति आजका दिनमा म नतमस्तक छुँ।’

उपसभापति निधीले सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरी पातलिएको छ । निधीले देउवालाई यसअघि आफूलाई १४ औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताएका थिए । तर देउवाले भने उक्त वाचा बिर्सेर महाधिवेशनमा जो पनि उम्मेदवार हुन सक्ने भन्दै फेरि पनि सभापतिका लागि आफू पछाडि नहट्ने बताएका थिए । त्यसपछि निधीले आफू सभापतिमा जसरी पनि लड्ने भन्दै तयारीलाई तीव्रता दिएका छन् ।

महेन्द्रनारायण निधीका पुत्र विमलेन्द्रले जननायक वीपी कोइराला पुत्र एवं कांग्रेस महामन्त्री डा.शशांक कोइराला तथा लौहपुरुष गणेशमान सिंहका पुत्र एवं कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग पनि चुनावी तालमेलका लागि छलफल गरिसकेका छन् ।

यसपालि सभापतिका प्रत्यासी धेरै देखिएका छन् । उनीहरुले सम्पर्क कार्यालय खोलिसकेका छन् । १३ औं महाधिवेशनका सभापतिमा उम्मेदवार कृष्ण सिटौलाले गौशालामा, महामन्त्री डा.शशांक कोइरालाले महाराजगञ्जमा, वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा, प्रकाशमान सिंहले बानेश्वरमा तथा केन्द्रीय सदस्य डा।शेखर कोइरालाले अनामनगर र विशालनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन् । दोस्रो पटक सभापति बन्ने योजनाका साथ अगाडि बढेका देउवाको सम्पर्क कार्यालय पार्टी मुख्यालय वीपीनगरमै रहेको छ ।

मंसिरमा काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि यही भदौ १८ गतेदेखि स्थानीय तहदेखि महाधिवेशन कार्यक्रम शुरु हुँदैछ । कांग्रेस मुख्यालय वीपीनगर बल्खुमा गत बुधबारदेखि रिले अनसनमा रहेका जिल्ला सभापतिहरु पनि अनसन तोड्ने भएका छन् ।

शनिबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग भएको छलफलपछि भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरी सहमति जुटेको र अनसन तोडाउने सहमति बनेको सिंहले जानकारी दिए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेपछि आफूहरुले आन्दोलनरत पक्षसँग छलफल गरी निष्कर्षमा पुगिएको नेता सिंहले जानकारी दिए ।

सभापति देउवासँग भएको छलफलपछि पौडेल पक्षले शनिबार आफुनिकटका नेता र जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा छलफल गरेको हो । उक्त छलफलमा देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिएका हुन् ।

उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए। यता पार्टीले ४८ जिल्लाका कृयाशीलको नाम सार्वजनिक गरिसकेको छ र अरु जिल्लाको केही दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।