मैदान छाडेर जानेहरुप्रति माधव नेपालको गुनासो - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

मैदान छाडेर जानेहरुप्रति माधव नेपालको गुनासो


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिँडेको बताएका छन् ।

ओलीविरुद्धको निर्णायक लडाईंमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको प्रतिक्रिया दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेतालाई पार्टीको नेतृत्व सम्हाल्न आह्वान समेत गरे ।

ओलीविरुद्धको लडाइँमा ‘अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ, तर केपी ओलीलाई फाल्नै पर्छ’ भनेका सहकर्मीहरुले आफूलाई छाडेर ओलीतिरै लागेको उनको गुनासो थियो ।

उनले दोस्रो पुस्ताका नेताहरुलाई लक्षित गर्दै भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । एकीकृत समाजवादीको अध्यक्ष बन्नुहोस् । म केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु । यो पदको लडाई होइन । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

एमाले विभाजनलाई एउटा सामान्य घटनाको संज्ञा दिएका अध्यक्ष नेपालले व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहने टिप्पणी गरे । गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताए । ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको नेपालको तर्क थियो । 

उनले भने, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन् ।’ ओलीविरुद्धको लडाइमा तीनै नेताहरुले भनेबमोजिम कदम चालेको र, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सफल पनि भएको उनले बताए ।

नेपालको गुनासो
उनले भने, ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए । उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौँ। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो।’

हाल नेपाललाई साथ दिएर अन्त्य अवस्थामा छाडेर हिँड्नेहरुमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलसहित घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत रहेका छन् । नेपाललाई उक्साएर अन्तमा उनीहरु १० बुँदे मागसहित एमाले एकतामै रहने भनिसकेका छन् ।