दार्चुला घट्नाबारे भारत सरकार बेखबर - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

दार्चुला घट्नाबारे भारत सरकार बेखबर


काठमाडौं । दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै मिडियामा आएका खबरकै आधारमा केही पनि नबोल्ने भारतले जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यस विषयमा मिडियाबाट केही सुने पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् ।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बाग्चीले भने, ‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन ।’

भारतीय सशस्त्र सुरक्षा बल ९एसएसबी०ले तुइन चुडाइँदिँदा जयसिंह धामी बेपत्ता भएको र नेपालको गृह मन्त्रालयले बनाएको छानबिन टोलीले एसएसबीको संलग्नता स्वीकार्दै कूटनीतिक पहलमार्फत समाधान खोज्न सुझाएको थियो ।

दार्चुलामा जयसिंह धामीको तुइन घटनामा मृत्यु भएपछि नेपाल सरकारले छानविनका लागि समिति गठन गरेको हो । समितिले यसै हप्ता प्रतिवेदन सार्वजनिक गरी एसएसबीको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । यसैबीच, सोही सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।