भदौ २३ गतेका लागि संघीय संसद्‌को दुवै अधिवेशन आह्वान - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

भदौ २३ गतेका लागि संघीय संसद्‌को दुवै अधिवेशन आह्वान


काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारका लागि संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन् । भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्‌को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८।५।१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संविधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । यसअघि सरकारकै सिफारिशमा राष्ट्रपति भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन ।