विद्रोही छापामारको सैन्य मन्चसम्मको यात्रा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

विद्रोही छापामारको सैन्य मन्चसम्मको यात्रा


-जानुका धमला

सम्झौतापरस्त राजनीतिक संघर्षले अनेक चरणमा हामीलाई पीडित बनाएको छ। संघर्षलाई सुरक्षाको आवरण दिएर तुहाइदिने राजनीतिक प्रपञ्चले पनि हामीलाई पीडित बनाएको छ । जसले ’हामी मर्छौं तर झुक्दैनौं’ भने तिनैले यथास्थितिको वा विद्यमान सत्तासामू आत्मसमर्पण गरेर र तिनकै सामू धनुष्टंकार भएर संघर्षमाथि पूर्णबिराम लगाइदिंदा वास्तविक परिवर्तन गौण हुँदै आएको छ । सत्ता र संघर्षको बीचमा सत्ता प्रधान हुँदा पटकपटक संघर्षको मोर्चा पराजित छ र त्यो मोर्चा लडने सिपाही पनि । हारेको कमाण्डरको जितेको सिपाही मध्येको एक म पनि हुँ ।

आजकाल जीवन भोगाईको अनुभव तफका पल्टायो । भरुवा बन्दुकदेखि जी,३६ एलएमजी, गलील, एके ४७ जस्ता राइफल काँधमा बोकेको सम्झियो विगतको सम्झाइले अर्को उर्जा पैदा हुन्छ । गजबको अनुभव छ जीवनमा ‘जंगल धाउने चेलीहरु हिमाल चढन, चुलो चौका मात्रै होइन संघर्षशिल नारी बन संसार यो धर्ती तिम्रै हो चिन्ता नगर’ भनेर गीत गाँउदै घर आँगनदेखि करार गरिएका दुश्मनहरुको क्याम्पहरुमा पुरुष सहर काँधमा काँध मिलाउदै बन्दुक बोकेर सँगै एसाल्टहरुमा लडदासम्म त मैंले जनयुद्धको बेलामा देखेको सपना साकार हुँदैन जस्तो कहिल्यै लागेन । आजको दिन र यो अवस्थाको कहिल्यै कल्पना समेत गरिन ।

युद्ध कतिसम्म निर्मम हुने रहेछ भन्ने कुरा युद्धमा सहभागि नहुन्जेल मलाई के थाहा जब सहभागि भएर पाइलै पिच्छे दुश्मनहरुले पछयाउँदा खान नपाएर भोकले छटपटी हुँदा, पानी प्यासले काकाकुल जस्तो बन्दा, महिनौसम्म ननुहाउँदा, आफ्नो लागि कफन पनि कात्रो पनि आफैंले झोलामा बोकेर हिड्नु पर्दा एकछिन अगाडिसम्म सँगै मोर्चा लडेको साथीलाई खाल्टोमा उसले निधारमा बाँधेको कफन निकालेर उसको भौतिक शरिरलाई, कात्रो बनाएर ओढाउनु पर्दा, दुश्मनले हानेको टु इन्च मोटार, जीपिएम जी, एलएमजी, एटी वानको सेलहरु लागेर शरीर टुक्रिएर कोषौं टाढा पुगेर दुई टुक्रा हँुदाको दुश्य, युद्ध सामाग्रीहरु बोकेर शरीरमा भएका घाउको उकुच हुँदा, सयौं आकस्मिक मृत्युलाई नजिकबाट नियाल्दा, बन्दुकको नालमा टिकेको राज्यसत्तालाई बन्दुकले नै परास्त गर्नपर्छ भन्ने भनाईलाई आत्मसाथ गरेर अगाडि बढदै जाँदा लडदा लडदै सम्भौतापछि बुझाईएको हतियार र विर्सजन गरिएको जनमुक्ति सेना चाही युद्ध सकिएर कोषौं टाढा पुग्दा पनि त्यो यादहरुको सपनाले लखेटी रहनेरहेछ त्यो अहिले जो अनुभव गर्दैछु ।

जब प्रमाणित जनमुक्ति सेनाको सदस्य भए मोर्चाबद्ध लडाईको अनुभवको हिसाबले हिमाली भेगमा दुश्मनसँग लडाई हुँदा ठोस्ने पानी अमला, कुरिलो, चुत्रो, चौरी आहाल बसेको ठाँउको पानी पिउँदा त्यो पनि अगाडी हिडने साथीहरुले पिइसकेपछि पछिको साथीहरुले पहरामा पलाएको हरियो झयाउमा रहेको पानी निचोरेर मुख भिजाएको याद । यो यादहरु सोलु जिल्लाको सल्लेरी ओखलढुंगाको रुम्जाटार, भोजपुरको चैनपुरलगायत उच्च पहाडी भुभाग बेनी मोर्चामा डोरपाटन लगायत बिभिन्न ठाँउमा भएका लडाईहरुको अनुभव हो ।

तराईको लडाई पहाडी भुभागको भन्दा भिन्न भयो । समथर भुभागका दुश्मनसँग लड्दा अधिकतम प्रयोग भने चुरेको भुभागको भयो । जहाँ सर्लाही, सिन्धुली, रौतहट, बारा, पर्सा, मकवानपुर लगायतका जिल्लाहरु । जनमुक्ति सेनाको मेन फोर्सको बाक्लो उपस्थिति हुन्थ्यो । त्यही भुगोलमा मेन फोर्सको सपोर्टको लागि तराई बटालियन समेत निर्माण भएको थियो ।

जीवनसँग कहिले रुवाईको, कहिले हसाइँको,कहिले सिमलको भुवा जस्तो फुरुङ मनको । कहिले ठुस्किएर नबोली बस्दाको क्षण । कहिले कयौ छाक खाना खान नपाएर भोकभोकै जंगलमा सुत्दाको अनुभव, कहिले जंगलमा झोला छोडेर भागेको अनुभव त कहिले दुर छितिजमा देखिएको उषालाई नजिकबाट नियाल्न नपाएर निरासिएको एक पल । जीतको नजिक पुग्नै लाग्दा उल्लास खुशीले उन्मत भएको क्षण । संगैको सहयोद्धको लासलाई चाँङ लगाएर खाडलमा छोडनुको पीडा । खै के जाति नीति अनुसार ढाडमा टेकेर टाउकोमा हान्ने कुराले काउकुति लागेर उपत्यका वरिपरी बिभिन्न पोष्टहरु कब्जा गर्दाको रमाइलो पल । सेल्टर घरमा एउटा झोलाको सिमानामा निर्धक्न निदाउन सक्ने फलामे अनुशासन र नैतिककता अनि लड्दा लड्दैको जनमुक्ति सेना शान्तिको नाममा बेचिएपछि निरास र विरक्तीएको जीन्दगी ।

उल्लासको एक पहल सम्झौत जनमुक्ति सेनाहरुले नुवाकोट र काठमाडौंको सिमानामा रहेको लाकुरी भन्ज्याङ ,धादिङको कृष्णभीर र उपत्यका भित्रै रहेको थानकोट, दधिकोट, साँखुसम्म आइपुग्दा ठूलो मात्रामा हतियार कब्जासहित राजधानी केन्द्रित हुँदै थिए । अन्तिम उद्देश्य राजदरबार कब्जा गरेर राजा र दरवारमा नीहित अधिकार जनतालाई दिलाउनु थियो । तर त्यो पूरा भएन । अहिले त्यो सपना देखाउनेहरुलाई असरल्ल प्रश्न छन् मेरो । तर सोध्ने पो कहाँ ? मोर्चावद्ध लडाईमा सन्तुलित अवस्थामा रहेको दुवै पक्षका सेनाहरु कमाण्डो फायरिङ्ग एम्वुसहरुमा भने शाही सेनाहरु भन्दा जनमुक्ति सेनाहरु अग्र पंक्तिमा थिए ।

तेस्रो डिभिजन, त्यसमा पनि बेथान स्मृति व्रिगेडले जहाँबाट शाही सेनाहरु निष्किए पनि उनीहरुलाई तहस नहस बनाउँदै ब्यारेकमा लगारेकै हुन्थे । बेथान स्मृति व्रिगेडको कार्यक्षेत्र पनि उपत्यका वरिपरि नै थियो । म त्यो फर्मेशनको सिपाही । शाही अमेरिकी सेना र माओवादी पार्टीको जनमुक्ति सेना शक्ति सन्तुलनमा हिसाबले बरावरी अवस्थामा नै थियो । मोर्चाबद्ध लडाईमा जनमुक्ति सेनाले पूर्ण रुपमा शाही सेनाको ब्यारेक कब्जा गर्न सकेको थिएन भने शाही सेनाहरु गाँउ गाँउमा पसेर जनमुक्ति सेनालाई निस्तेज पार्न सक्ने अवस्थामा थिएन्। गाँउ पुरै माओवादी पार्टी र जनमुक्ति सेनाको कब्जामा थियो । शाही सेनासँगको लुकामारीका कथाहरु पनि लेख्छु नै । यो पटक एउटा विद्रोही सिपाहीले सैनिक मन्चमा उभिएको रोमान्चकतालाई समेटने कोशिष गरेको हुँ ।

जनयुद्धको अन्तिम मोर्चा चौतारापछि देशब्यापी रुपमा शान्ति बार्ताको माहोल सिर्जना भयो । लड्दै गरेको जनमुक्ति सेनालाई शान्तिको नाममा ब्यारेक भित्र थुपारियो र औचित्यहिन बनाएर क्यान्ट्रोनमेन्टबाट निकालियो । चौतारा पुगेको जनयुद्धको फौजी मोर्चा जंगीअडासम्म पुग्न पाएन । चौताराको मोर्चापछि देशभर शान्तिप्रकियाको पक्षमा माहोल तयार भयो ।

जनयुद्धको जगमा १९ दिने जनआन्दोलन उर्लियो । बिस्तृत शान्ति सम्झौतापछि २०६३ साल जेष्ठ १९ गते माओवादी पार्टी भूमिगत अवस्थाबाट सार्बजनिक हुने भनेर पहिलो पटक बिद्रोही पार्टीले औपचारिक जनसभा टुडिखेलको खुल्लामंचमा गर्ने भनेर घोषणा गर्यो । त्यो पहिलो केन्द्रिकृत जनसभाको सुरक्षाको बन्दोवस्त जनमुक्ति सेनाले लिएको थियो । त्यसका लागि तेस्रो डिभिजनले विशेष खालको सुरक्षा योजना बनाएको थियो । पहिलोपटक सार्वजनिक कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्दै थिए त्यो जनसभा कस्तो कत्रो हुन्थ्यो अहिले अनुमान गर्दा पनि अत्यास लाग्छ त्यो माव सागर देखेर । त्यो सभालाई सम्बोधन गर्दैगर्दा प्रचण्डले बोलेका कुरामा त्यो मानव सागरले देखेको सपना भने पुरा भएको छैन १५ वर्षसम्म पनि । त्यो कार्यक्रममा नेतृत्वको विशेष सुरक्षादेखि जनतासम्मको सुरक्षा जनमुक्ति सेनाको काँधमा थियो ।

बेथान स्मृति व्रिगेडको सुरक्षा गर्नुपर्ने आर्क थियो मन्चको पूर्वी भाग भृकुटी मण्डप, भद्रकाली, पुरानो बसपार्क, टुँडीखेलको पुर्वीगेट, बागबजार तर्फ जाने दोवाटो । यतिखेर म सँग क्यामेरा थिएन । म १३औं बटालियनको ‘ए’ कम्पनीको सहकमाण्डर थिए । यही दोबाटोले छुटाएको थियो सैनिक मन्च र टुँडिखेल मैदानलाई । मलाई यही दोबाटोमा डिउटी बस्न आदेश भयो कमाण्डर सबिनबाट । म सहित एक सेक्सन त्यही दोबाटोमा सुरक्षाको लागि खटियौं । सुरक्षा ब्यवस्था निकै कडा थियो । यो मानव सागरलाई हाम्रो सुरक्षाले के नै अर्थ राख्थ्यो र ? कार्यक्रम स्थल पहिले नै भरिभराउ भैसकेको थियो । राज्यको सुरक्षा फौजहरु पनि जनसभालाई सुरक्षा दिन तल्लीन थिए । त्यो जनसभामा सहभागी हुन आउनेहरु पूर्वमा सिंहदरबार गेट, पश्चिमका स्रोहखुटे, कलंकी, उत्तरमा नारायणगोपाल चोक दक्षिणमा त्रिपुरेश्वरसम्मको सडक भरिभराउ भएको थियो । यस्तो अवस्थामा कसले कसलाई सुरक्षा दिने अब की आफू सुरक्षित हुने भन्ने कुरा पनि हुँदोरहेछ ।

प्रचण्डलाई नजिकबाट हेर्न मानिसहरु हुलका हुल मन्चतर्फ बढिरेका थिए । त्यो मानव सागरले सुरक्षा गर्न बसेका मानिसहरु कहाँ छन भन्ने अवस्थमा सिर्जना भयो । यत्तिकैमा जनताको जनसागरले सैनिक मन्चको गेट फोरेर सैनिक मन्च कब्जा गरे । मिनेट भरमा सैनिक मन्च कब्जा भयो । अहिले अनुमान गर्दा जादुगरको जादु जस्तै लाग्छ । विशेष कार्यक्रम र राजपरिवारको सवारीको बेलामा मात्रै खुल्ने सैनिक मन्च यो पटक जनताहरुले सहजै कब्जा गरिदिए । म भिडमा च्यापिएर निसासिरहेको थिएँ ।

म सँगै डिउटी बसेको साथी निसासिएर रुख चढे उनको सहायताले म पनि रुखमा चढें । त्यही रुखको सहायतामा मैंले सुरक्षाको लागि राखिएको फलामको पर्खाल तारवार पार गरेर सैनिक मन्चमा पुगें । सैनिक मन्चमा पुग्दा सेनाको जवानहरु डिउटी बसिरहेका थिए । उनीहरुले थेग्न नसक्ने उभार थियो जनताको । जनताहरु सैनिक मन्च कब्जा गरेर तोडफोड गर्न शुरु गर्दै थिए । जनमुक्ति सेनाका कमाण्डरहरु आएर सम्झाएपछि तोडफोडको काम रोकियो । भाग्यबस म सैनिक मन्चमा पुगेको थिएँ । हातमा हतियार थिएन । तर मनमा अर्कौ खालको उत्सुकता थियो । एउटा विद्रोही छापामार सैनिक मन्च पुगेर आँखा अगाडी सैनिक मन्च कब्जा गर्नु भनेको राजनीतिम हिसाबले सेनाको हेडक्वाटर कब्जा गरे सरह हो ।

केही अगाडीसम्म कल्पना थियो सेनाले परेड खेल्ने मन्चमा हामी जनमुक्ति सेनाहरुले परेड खेल्छौं भनेर । तर यति चाँडै सम्भावना होला भनेर कम सोच थियो । त्यसैले जनताको शक्ति इतिहासमा झुकेको कहीं पनि छैन् । त्यसैले भनिन्छ इतिहास शासकहरुले पनि लेख्छन् । जनताले पनि लेख्छन । जनताको इतिहास रातो मसीले लेखिन्छ भने शाषकहरुको इतिहास पंहेलो मसीले ।

जनताले हारेको इतिहास कहीं छैन । त्यसैले तत्कालिन अवस्थामा सैन्य मन्च कब्जा गर्नु ठूलो उपलब्धी हो जनताको । सेनाको हेडक्वाटर अगाडि सैन्य मन्च कब्जा हुनु भनेको विद्रोह र जनआन्दोलनको निकै ठूलो उपलब्धी हो । तर उपलब्धीलाई संस्थागत गर्न नसक्दा भएको उपलब्धीहरु पनि गुमेका छन् । भद्रकाली पुग्ने पाईला सैनिक मन्चमा रोकिएको पनि १५ वर्ष पुगेछ ।

माओवादी आन्दोलनको विघटन र पतनपछि धेरैले गरेको आशंका के हो भने बलियो र आयमूलक सरकारी जागिर पाएको भए हामीकहाँ यी र ती अनुहारहरु नेतृत्व भनेर उदाउने कल्पना नगरे हुने रहेछ। हिजोको रक्तपातपूर्ण युद्धमा विजय नै भएको भए पनि त्यसको रक्षा गर्ने क्षमता नेतृत्वबीचमा रहेनछ । जुन व्यवहारतः पुष्टि भएको छ । यो बेला माओवादी आन्दोलनको खरानी जति फुके पनि मसान ब्युूझन्छ भनेर लख काट्नु जायज हुन्न। एउटा उपलब्धी चाँहि पक्का प्राप्त हुनेछ । क्रान्तिकारी मोर्चा, सर्बहारा, बर्ग संघर्ष, जनजीविका आदि इत्यादी शब्द थोपरेर खाटो बस्न लागेको जनयुद्धको पाप्रो उप्काएर पीडितहरुलाई आहत बनाउन र तिनका शोक र पीडाको ब्यापार गर्न नयाँ राजनीतिक घोषणापत्र चैं बन्नेछ।