देउवालाई निधिको पत्र - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

देउवालाई निधिको पत्र


काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा कतिपय जिल्लामा वडा अधिवेशन गर्न नै सकस भएको छ । विशेषगरी कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा सदस्यता विवादले उग्र रुप लिएको छ । नेता डा.शेखर कोइरालाले डडेल्धुरा जिल्लामा देखिएको सदस्यता विवाद निम्त्याएर महाधिवेशन नगर्ने वहाना हो कि भनेर आशंका समेत ब्यक्त गरिसकेका छन् ।

डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत भएको र लोकतान्त्रिक प्रकृया विपरित भएको डा.कोइरालाको भनाइ छ ।

भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन कतिपय जिल्लामा भएपनि २१ जिल्लाको क्रियाशील सदस्यताको नाम समेत सार्वजनिक गर्न नसकेको आजको स्थितिमा डडेलधुरा घटनाले सबैलाई नराम्ररी झस्काएको उनको बुझाइ छ । ‘यो कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने वहाना त हैन ?’ उनले प्रश्न गरेका छन् ।

यता, कांग्रेस उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर मात्रै अधिवेशन अघि बढाउन सभापति देउवालाई आग्रह गरेका छन् । बुधबार निधिले सभापति देउवालाई पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । निधिले पत्रमा देउवाकै गृह जिल्ला डडेलधुरामा देखिएको क्रियाशील सदस्यता विवादलाई आधार देखाएका छन् । निधिले देउवालाइ पठाएको पत्रमा डडेलधुरामा तल्ला तहबाट आएका नामावलीमा केही हटाएर माथिबाट थप गरिएकोसमेत भनेका छन् ।

‘डडेलधुरा जिल्लाको क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको छ, सम्पूणर् प्रकृया पुर्याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति कर्णबहादुर मल्लद्वारा जिल्ला कार्य समितिको निर्णय सहितको विज्ञप्ति पनि आएको छ, यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वदा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकारवालाहरुलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु,’ निधिले देउवालाई पठाएको पत्रमा भनिएको छ ।