संसदमा एमालेको अवरोध, नाराबाजीले तात्यो सभामुखको ‘पारो’ - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

संसदमा एमालेको अवरोध, नाराबाजीले तात्यो सभामुखको ‘पारो’


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गरेका हुन् ।

विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए । बुधबारबाट सुरु भएको संघीय संसद प्रतिनिधिसभाका पहिलो र दोस्रो बैठक एमालेका सांसदहरुको अवरोधका कारण स्थगित गरिएको थियो ।

एमाले सांसदहरुले अवरोध गरेपछि सभामुख सापकोटा आक्रोशित बनेका थिए । बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित आफुबिरुद्ध नाराबाजी गरेपछि सापकोटाले आक्रोशित बनेका हुन् । एमालेले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख आक्रोशित भए ।

सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्न भन्दै आफुले नियम, कानुन र संविधानभित्र रहेरै निर्णय गरेको बताए । उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने भन्दै एमालेलाई सचेत गराए ।

सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले एमालेका सांसदहरुलाई मर्यादाबाहिर नजान समेत चेतावनी दिए । प्रतिनिधिसभा नियमावली २०७५ को नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ ।