एमालेको निष्कर्ष: सभामुखलाई सम्झाउने, आफ्ना सांसदलाई मर्यादा सिकाउने - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

एमालेको निष्कर्ष: सभामुखलाई सम्झाउने, आफ्ना सांसदलाई मर्यादा सिकाउने


काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशन सरेको छ । स्थायी समितिको शनिबारको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सार्ने प्रस्ताव गरेको छ । अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । संसदमा भइरहेको गतिविधिको विषयमा आफ्नो सीमा र विरोधको शैलीलाई लिएर धारणा तय गर्न पार्टीले संसदीय दलको बैठक बोलाउन लागेको भट्टराईले जानकारी दिए ।

यस्तै शनिबारको बैठकले संसदीय मूल्य मान्यता र एमालेले अवलम्बन गर्दै आएको मर्यादित संस्कृतिभित्र बसेर विरोध गर्न सांसदहरूको ध्यानाकर्षण गराएको छ । सांसदहरूको भूमिकालाई अझ स्पष्ट पार्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको भट्टराईले बताए ।

शुक्रबारको बैठकमा एमाले सांसदहरूले रोस्टममा चढेर सभामुख र अर्थमन्त्रीलाई माइकले हान्न खोजेको थिए । बैठकपछिको प्रतिक्रियामा समेत सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउन खोजेको बताएका थिए ।

त्यस्तै बैठकले संसद चलाउन सत्तारुढदेखि प्रतिपक्षी दलसँग सभामुखले सहजीकरण गर्नुपर्नेमा सापकोटा एकपक्षीय रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । सभामुख सापकोटा सत्ता गठबन्धनको इशारामा चलेको निष्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले अहिलेको अवस्थामा सभामुख सापकोटाको भूमिका ठिक नभएको, एमाले विभाजनका लागि सहयोगी भूमिका खेलेको आरोप लगाए । उनले भने, सभामुखले संसद अघि बढाउन सबै दलहरुसँग सहजीकरण गर्नुपर्ने भए पनि प्रतिपक्षी दलसँग छलफल नै गर्दैनन् ।’

भट्टराईले अहिलेको अवस्थामा आफू एमाले प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्तामा यथावत रहेको जानकारी पनि दिएका छन् । बैठकका निर्णय सुनाउने क्रममा उनले पार्टीको २०७५ जेठ २ गतेसम्मको अवस्थामा प्रवक्ताको व्यवस्था नभएको र आफू प्रबक्ता नरहेको बताए ।