कांग्रेस संस्थापन पक्षको मनोमानीविरुद्ध पौडेल पक्ष आक्रामक - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

कांग्रेस संस्थापन पक्षको मनोमानीविरुद्ध पौडेल पक्ष आक्रामक


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरा लगायतका जिल्लामा बलपूर्वक र लोकतान्त्रिक मान्यता विपरीत गरिएका १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन पुनः गर्न माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले संस्थापन पक्ष मनोमानी र श्वेच्छाचारी ढंगले चलेको निष्कर्ष निकाल्दै सभापतिको सहभागिता र सहमतिलाई निषेध गरेर वडा अधिवेशन गर्नु लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको निष्कर्ष निकालेको हो ।

कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भइ आउने र विवाद देखिए सहमतिमा टुंगो लगाउने स्पष्ट व्यवस्था भएको वरिष्ठ नेता पौडेलद्वारा जारी विज्ञप्तिमा स्मरण गराइएको छ ।

विवाद बढेमा १३औं महाधिवेशनका क्रियाशील सदस्यको आधारमा अधिवेशन हुने बाँकीलाई विधि र प्रक्रिया पुर्याएर १५औं महाधिवेशनमा सहभागी गराइने केन्द्रीय कार्यसमितिको निर्णयविपरीत वडा अधिवेशन सुरु भएकोमा पनि उनले असहमति जनाएका छन् ।

सभापति र संस्थापन पक्षले पार्टीको विधान र केन्द्रीय कार्यसमितिको निर्णयलाई लत्याएर बलपूर्वक अघि बढेको पौडेल पक्षको निष्कर्ष छ । डडेलधुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा केन्द्रबाट कटौती गरेर नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै असन्तुष्ट रहँदै आइरहेको छ ।

जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद त्यहाँ केन्द्रको निर्देशनमा वडा अधिवेशन गरिएको थियो । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन ।

कांग्रेसले गत १८ भदौमा देशभरका ६ हजार ७ सय ४३ वडामा एक साथ वडा अधिवेशन गर्नका लागि मिति तोके पनि अहिलेसम्म ५६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । डडेलधुराको अधिवेशन विवादित छ भने त्यसबाहेक २० जिल्लामा वडा अधिवेशन शुरु नै भएको छैन ।

पछिल्लो पटक कांग्रेसले गत शुक्रवार केन्द्र र प्रदेश बाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो । जस अनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन ५ असोजलाई तोकेको छ भने पालिका तहको अधिवेशन २७ भदौबाट सारेर ९ असोजमा पुर्‍याइएको छ ।