एमसीसीविरुद्ध विप्लव समूह सडकमाः 'एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ' - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एमसीसीविरुद्ध विप्लव समूह सडकमाः 'एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ'


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेकपाले अमेरिकी परियोजना एमसीसीको विरोधमा काठमाडौंको सडकमा विरोध प्रदर्शन गरेको छ । विप्लव भूमिगत अवस्थाबाट सार्वजनिक भएपछि पहिलो पटक सडकमा आयोजित विरोध कार्यक्रममा निस्किएका हुन् । सो समूहले एससीसी खारेज हुनुपर्ने मागसहित खुलामञ्चमा विरोध सभाको आयोजना गरेको हो । त्यसक्रममा विप्लवले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् ।

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दावी समेत गरे ।

उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे । एमसीसीको बिरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ?भनि प्रश्न पनि गरे ।

महासचिव चन्दले ‘हामी लड्छौं । कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं । यो कुनै लुकाईछिपाईको कुरा छैन । आज पनि हामी भन्छौं–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जब्बरजस्ती सन्धि लाद्न पाउँदैन । एमसीसी आज एउटा बहस छ । यहाँ पढि पनि सक्नु भयो । यहाँ थुप्रै बूँदाहरु छन । हामीले हे¥यौं । के लेखिएको छ भने–एमसीसी सम्झौंता र नेपालको कानुन बाझेको स्थितिमा एमसीसी सम्झौंता माथि हुनेछ । लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरुको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सेक्यूरिटी अमेरिकाले गर्नुपर्नेछ । यो कुरा उल्लेख छ, त्यहाँ । यो सम्झौंता कसको हितमा गरिदैछ रुअमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौंता लागू गरिनेछ,’ भने ।

महासचिव चन्दले एमसीसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए । उनले आफूहरुले बास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दावी गरे । माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन खुलामञ्चमा पुगेर विरोध सभामा परिणत भएको हो । कार्यक्रममा विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका सहभागी थिए ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । सो सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।