सर्वदलीय बैठकमा ‘ओली प्रबृत्ति’ र एमालेलाई नेताहरुको अर्ती - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

सर्वदलीय बैठकमा ‘ओली प्रबृत्ति’ र एमालेलाई नेताहरुको अर्ती


काठमाडौं । सभामुख अग्नि सापकोटाले संघीय संसद, प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको असहमतिका कारण उत्पन्न गतिरोध अन्त्य गरी सदन सुचारू गर्न र विधायिकी कार्य अघि बढाउनका लागि छलफल गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग सम्पर्क गर्न प्रयास गरेको भएपनि सफल नभएको बताएका छन् ।

सभामुख सापकोटाले सोमबार आयोजना गरेको सर्बदलीय बैठकमा ओली अनुपस्थित भएपछि उनले उक्त जानकारी गराएका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो समस्या भोलि प्रमुख प्रतिपक्षीलाई पनि आउन सक्ने भन्दै संचारमाध्यामले पारदर्शी रूपमा संसदीय गतिविधि प्रशारण गरेकोले सदनलाई मर्यादित बनाउन मद्दत पुगेको औंल्याए । उनले सदनमा विपक्षीको सम्मान जरूरी रहेको र द्वन्द्वको विकल्पमा जानुपर्ने भएकोले वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार रहेको बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संवादबाट समाधान खोज्ने उत्तम विकाल्प भएकोले प्रमुख प्रतिपक्षीलाई छलफल र संवादमा आउन अनुरोध गरे । उनले अदालतको भर्डीक्ट नआएको र निर्वाचन आयोगबाट निर्णय आएको सन्दर्भमा आआफ्नो दृष्टिकोण हुने भन्दै छलफल र सहमतिमा सभालाई सुचारु गर्नुको विकल्प नभएकोले लगातार कोशिस गर्न सभामुखलाई अनुरोध गरे ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको कुरा औंल्याउँदै प्रतिनिधि सभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रीक संस्कार प्रदर्शन गर्न अनुरोध गरे ।

उनले संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसला अनुसार पनि दल त्याग आकर्षित नहुने भन्दै विधि पुर्याएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारीक पहल गरेको कुरा व्यक्त गरे ।

प्रमुख प्रतिपक्ष सत्तामा हुँदै ल्याएका नागरिकता, तेजाव प्रयोग, कोभिड १९ सम्बधी अध्यादेश तथा आर्थिक अध्यादेश जस्ता कतिपय अध्यादेशहरू सदनमा पास गर्न प्रमूख प्रतिपक्षको पनि जिम्मेवारी रहेको बताए ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सदनमा भएको अवरोध हटाउन गरिएको सर्वदलीय बैठकको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षले संसद्को पक्षमा आफू रहेको कुरा पुष्टि गर्न पनि समझदारीमा आउनपर्ने बताए ।

संसदलाई क्रियाशील बनाई संसदीय सर्वोच्चता सबैले स्वीकार्नुपर्ने कुरामा ध्यानाकर्षण गराए । उनले हिजो संसद विघटन गर्ने आज संसद अवरोध गर्ने एउटै दल भएकोले प्रतिपक्षी दललाई यो संसदको पक्षमा नभएको देखिएको बताए ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले विगतमा पनि ५९ दिन सदन अबरूद्ध भएको तर पछि आपसी छलफलबाट सदन सुचारु भएको स्मरण गर्दै द्वन्दमा सम्झौता अनिवार्य शर्त रहेको, प्रतिरोधको अधिकार सुरक्षित हुनुपर्ने र प्रमुख प्रतिपक्ष ‘नेक्सट गभरमेन्ट’ भएकोले विश्वासमा लिएर अघि बढ्न सुझाव दिनुहुँदै संवाद र छलफलमा आफ्नो संधै सहयोग रहने कुरा बताए ।

नेमकिपाका नेता प्रेम सुवालले प्रमुख पार्टीहरूले आफ्नो घोषणापत्रका बाचा बिर्सन नहुने भन्दै बहस र छलफल सिद्दान्तमा केन्द्रित हुनुपर्ने कुरामा ध्यानाकर्षण गराए । उनले संसद बल देखाउने स्थान नभई प्राज्ञिक थलो भएको बताए ।

जनमोर्चाकी नेत्री दुर्गा पौडेलले सभामुखले आफूलाई कानुनले दिएको सुविधा उपयोग गर्नुभएको र प्रतिपक्षको आफ्नो मनसाय अनुसार नहुँदा विवाद बढेको बताउँदै सांसदहरूले राष्ट्रिय समस्या सदनमा उठाउन नपाएको कुरामा ध्यानाकर्षण गराइन । सदनलाई लामो समय अनिर्णयको बन्दि बनाउन नहुने र अविलम्ब वार्तामा वसी सदन सुचारु गर्नुपर्ने बताइन । सभामुख सापकोटाले आफू वार्ता र छलफलबाट समस्या समाधान हुने कुरामा विश्वस्त रहेको र सोमबारको बैठकबाट थप उर्जा र प्रेरणा मिलेको बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) दलका नेता माधवकुमार नेपाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्त ठाकुर, नेमकिपाका नेता प्रेम सुवाल तथा जनमोर्चाका नेत्री दुर्गा पौडेल सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन दोलखामा रहेकाले उपस्थित हुन सकेनन् ।