एमालेको प्रश्न: ‘हाउस असोज ४ गते किन सारियो ?’ - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

एमालेको प्रश्न: ‘हाउस असोज ४ गते किन सारियो ?’


काठमाडौं । नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ । सरकार र सभामुखले संसद् स्थगित गरेर गैर जिम्मेवार पूर्ण व्यवहार देखाएको भन्दै एमालेले विज्ञप्तिमार्फत ‘हाउस असोज ४ गते किन सारियो ?’ भन्दै प्रश्न गरेको हो ।

महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गराएका हुन् । उनले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप पनि लगाए ।

आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको आरोप छ । लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको महासचिव पोखरेलको तर्क छ ।

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ । एमालेले आफ्नो दलले कारबाही गरेका १४ जना सांसदको कारबाहीको सूचना सभामुखले संसद्मा नटाँसेको भन्दै २३ भदौबाट सुरु संसद् निरन्तर अवरुद्ध पार्दै आइरहेको छ । विज्ञप्तिमार्फत एमालेले आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय बिताएकोसमेत भनेको छ ।