डडेल्धुरामा कांग्रेस अधिवेशनलाई मान्यता नदेऊ - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

डडेल्धुरामा कांग्रेस अधिवेशनलाई मान्यता नदेऊ


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ ।

पौडेल समुहका मुख्य नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर समितिका पदाधिकारीसँग भेट गरी त्यहाँको वडा अधिवेशनलाई मान्यता नदिन ध्यानाकर्षण गराए ।भेटपछि महामन्त्री डा.शशांक कोइरालाले डडेल्धुराको वडा अधिवेशनमा धाँदली भएको भए पनि पुनःअधिवेशन हुने सम्भावना नदेखिएको बताए ।

नेता डा.शेखर कोइरालाले कांग्रेसको डडेल्धुराको वडा अधिवेशन इतिहासमै लज्जास्पद घट्ना भएको भन्दै बाँकी रहेको जिल्लामा त्यसप्रकारका घटना दोहोरिन नदिन निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको जानकारी दिए । 

केन्द्रीय निर्वाचन समितिसंगको छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.शेखर, सुजाता कोइराला र गगन थापा सहभागि थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असहमति जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल र संस्थापन इतर पक्षको बहिस्कारकाबीच डडेल्धुरामा भदौ २५ गते वडा अधिवेशन सम्पन्न भएको थियो । जिल्लाका ५२ मध्ये ४१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

यसअघि पौडेल समूहले डडेलधुरामा भएको वडा अधिवेशन अस्वीकार गर्ने जनाएको थियो । गत २५ भदौमा डडेलधुरामा गरिएको वडा अधिवेशन एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनु पर्ने बताएको थियो ।

डडेलधुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा केन्द्रबाट कटौती गरेर नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै असन्तुष्ट रहँदै आइरहेको छ । जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद त्यहाँ केन्द्रको निर्देशनमा वडा अधिवेशन गरिएको थियो । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन ।

कांग्रेसले गत १८ भदौमा देशभरका ६ हजार ७ सय ४३ वडामा एक साथ वडा अधिवेशन गर्नका लागि मिति तोके पनि अहिलेसम्म ५६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । डडेलधुराको अधिवेशन विवादित छ भने त्यसबाहेक २० जिल्लामा वडा अधिवेशन शुरु नै भएको छैन ।

पछिल्लो पटक कांग्रेसले गत शुक्रवार केन्द्र र प्रदेश बाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो । जस अनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन ५ असोजलाई तोकेको छ भने पालिका तहको अधिवेशन २७ भदौबाट सारेर ९ असोजमा पुर्‍याइएको छ ।