दशैंका लागि असोज १० गतेबाट टिकट बुकिङ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

दशैंका लागि असोज १० गतेबाट टिकट बुकिङ


काठमाडौं । असोज १० गतेबाट दशैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन् ।

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका छन् ।

प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दशैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनु पर्ने माग व्यवसायीले माग राखेका छन् । पुरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने सवारीका लागि बसपार्क नहुँदा दशैंको समयमा निकै ठूलो समस्या पर्ने यातायात व्यवसायीको गुनासो छ ।

अरनिको राजमार्गमा चल्ने सवारीका लागि ट्राफिक प्रहरी कार्यालय तिनकुनेदेखि बालकोटसम्मको करिडोरमा गाडी राख्ने व्यवस्था मिलाउनसमेत महासंघले आग्रह गरेको छ ।