आलोचना मत्थर पार्ने देउवा सरकारका १५ बुँदा - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

आलोचना मत्थर पार्ने देउवा सरकारका १५ बुँदा


काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना वितिसक्दा पनि काम प्रभावकारी नभएको भनी आलोचना शुरु भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले प्रगतिका १५ बुँदे सूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका हुन् । केही संचारमाध्यमहरुले देउवा सरकार असफल बन्दै गएको भन्दै आलोचना पनि गरेका थिए । तर उक्त आलोचनाहरुलाई चिर्न देउवाले आफूले गरेका प्रगति र सुधारको फेहरिस्ती तयार बनाएका हुन् ।
सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते पाँचौं पटक मुलुकको कार्यकारी प्रधानमन्त्री पद सम्हालेका देउवाले आफ्ले महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै गएको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री सचिबालयले शनिबार सार्वजनिक गरेको १५ बुँदे सूचीमा कोरोना भाइरस विरुद्धको अभियान सफल बन्दै गएको र खोपको व्यवस्थापन राम्रो भएको विशेष प्राथमिकताका साथ उल्लेख गरेका छन् । उनले कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरुप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति लगायतलाई आफ्नो महत्त्वपूर्ण उपलब्धि ठानेका छन् ।

उनले खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीन लाखलाई खोप दिन सफलता प्राप्त गरेको साथै १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लागेको उल्लेख गरेका छन् । त्यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज ल्याएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उदार तथा राहत र पुनस्थापनालाई प्राथमिकता दिएको कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि गरेको पनि सूचीमा उल्लेख गरिएको छ ।

क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत वितरण शुरु गरिएको पनि सूचीमा उल्लेख छ । राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था र विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै र महिला लक्षित ‘महिला पहिला’ कार्यक्रमलाई उपलब्धी ठानिएको छ । भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद लगायतका विषय पनि देउवा सरकारको सफलताका रुपमा लिइएको छ ।

देउवाले संसदमा विश्वासको मत लिने क्रममा आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउनु भएको बताएका थिए। उनले भनेका थिए, ‘अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप। तीनवटा प्राथमिकता खोप, खोप, खोप। जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो। हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाइसकेका छन् । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।
अरु