चार एमीकस क्यूरीले गर्यो इजलास बहिस्कार - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

चार एमीकस क्यूरीले गर्यो इजलास बहिस्कार


काठमाडौं । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने या नपर्ने भन्ने मुद्दा निरुपणको लागि सर्वोच्च अदालतले मगाएको अदालतका सहयोग (एमीकस क्यूरी)ले इजलास बहिष्कार गरेको छ ।

सर्वोच्च बार र नेपाल बार एशोसियशनले पठाएको एमीकस क्यूरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको छलफलमा संवैधानिक इजलासमा पेशी तोक्ने र एमीकस क्यूरी पठाउने सहमति भए पनि शुक्रबार नियमित इजलासमा पेशी तोकेको भन्दै अनुपस्थित भएका हुन् ।

इजलासमा एमीकस क्यूरीनै अनुपस्थित भएपछि न्यायाधीश प्रकाशकुमार ढुङगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दाको सुनुवाइसमेत प्रभावित भएको हो ।

यता सर्वोच्च अदालतले भने एमीकस क्यूरीको लागि सर्वोच्च अदालतले पठाएको पत्र सर्वोच्च बार र नेपाल बारले बुझे पनि वरिष्ठ अधिवक्ताहरूलाई मनोनयन गरिएको पत्र मिसिलमा प्राप्त नभएको भन्दै मुद्दा अघि बढाउन नसकेको जनाएको छ ।

सर्वोच्चले एमीकस क्यूरीको रूपमा वरिष्ठ अधिवक्ताहरूको नामावली प्राप्त भएपछि मुद्दाको गाम्भीर्यता हेरेर अविलम्ब पेशी चढाउने निर्णय गरेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिका विषयमा सर्वोच्च बारले अध्यक्ष पूर्णमान शाक्य र रविनारायण खनाल, नेपाल बार एशोसिएसनले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता शेरबहादुर केसी पठाउने निर्णय गरेको थियो ।