एमालेमा ७० बर्षे उमेर हद: केपी ओली मौन - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

एमालेमा ७० बर्षे उमेर हद: केपी ओली मौन


काठमाडौं । नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् ।

पार्टीको नेतृत्व दोस्रो पुस्तामा आउने गरी तयार पारिएको विधान मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले ७० वर्षे प्रावधानलाई कायमै राख्नुपर्ने अडान राखेका छन् । एमालेका केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका थिए । तर, उनीहरूको मागलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकृत गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउँदै १० वटै समूहका नेताले पदाधिकारी सङ्ख्या बढाउनुपर्ने बताए भने ७० वर्षे उमेर हदलाई कायम राख्न माग गरेका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले ७० वर्षे उमेरहदका विषयमा पार्टी भित्र कुनै समस्या नरहेको बताए । उनले सो व्यवस्था कायम हुने जानकारी दिए । ‘७० वर्षे उमेरहद कायम रहन्छ, यो व्यवस्थाका विषयमा कतै पनि कुनै असमझदारी छैन, १० वटा विभिन्न समूहमा बहस हुँदा पनि यो विषयमा विवाद छैन,’ एमाले प्रमुख सचेतक भट्टराईले भने ।

यो व्यवस्था लागू भए अब फेरी केपी ओली अध्यक्ष उठ्न पाउने कि नपाउने ? भन्ने प्रश्नमा सचेतक भट्टराईले विधानमा सो व्यवस्था लागू भए ७० वर्ष पुगेका जो कोही पनि आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न नपाउने बताए । सो व्यवस्था कायम हुँदा ७० वर्ष पुगेका जो कोही पनि आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न पाउनु हुन्न, यो व्यवस्था सबैलाई लागू हुन्छ’ सचेतक भट्टराईले भने ।

तर ७० वर्षे उमेर हदले ओलीलाई दशौँ महाधिवेशनमा अध्यक्ष हुन रोक्दैन । मङ्सिरमा महाधिवेशन भए एक पटक अध्यक्ष हुन पाउँछन् । फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मङ्सिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद नलाग्ने भएकाले यति बेला सो विषयमा ओली चुपचाप रहेका छन् । विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ ।

एमालेमा हाल रहेका शीर्ष नेतामध्ये ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन् । अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई असर पर्ने देखिए पनि उमेर हद हटाउने विषयमा उनीहरूको पनि कुनै जोड नचल्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउँदै १० वटै समूहका नेताले पदाधिकारी सङ्ख्या बढाउनुपर्ने बताए भने ७० वर्षे उमेर हदलाई कायम राख्न माग गरेका पनि छन् ।

तर ७० वर्षे उमेरहदको विषयमा ओली मौन बस्दा सबैभन्दा बढी सकस ईश्वर पोखरेललाई परेको छ । ओलीका विरुद्ध अध्यक्षमा उठ्न नसक्ने ओलीले पोखरेललाई अध्यक्ष चुनाव उठ पनि नभन्ने, एघारौँ महाधिवेशन अघि नै बिदा हुनुपर्ने बाध्यता भएपछि सकस परेको हो’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार पार्टी अध्यक्ष हुनुपर्‍यो भन्दै धेरै पटक भने पनि ओलीले पोखरेललाई पत्याउन सकेका छैनन् ।

शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । शनिबार समूहगत छलफल सकिएपछि आइतबार तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता पौडेलले केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा अध्यक्षले जवाफ दिने बताए ।

प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो । तर सुझावका क्रममा नेताहरुले ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । हाल एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ । नेता पौडेलपछि महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिनेछन् भने अन्तिममा अध्यक्ष ओलीले राजनीतिकसहित समग्र प्रतिवेदनको जवाफ दिनेछन् ।

 

"