चूडामणि शर्मासँग ५० लाख धरौटी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

चूडामणि शर्मासँग ५० लाख धरौटी


काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । शर्माले सोमबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

अख्तियारले तत्कालीन कर फर्स्यौट आयोगका पदाधिकारीले बदनियतपूर्वक एक अर्ब, ३३ लाख २० हजार ३८५ रूपैयाँ कर छुट दिएको भन्दै शर्मा लगायत आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा चलाएको थियो ।

शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक रहेका बखत २०७१ माघ २२ माघमा गठित कर फर्स्यौट आयोगमा सदस्य थिए । अख्तियारले उक्त आयोगले अधिकारक्षेत्र बाहिर गई बदनियतपूर्वक करदातासँग कर फर्स्यौट सम्झौता गरेको ठहर गर्दै मुद्दा चलाएको थियो ।